मन्त्री पुन र रवि लामिछानेको 'भ्रष्टाचार' काण्डको रहस्य यस्तो - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

मन्त्री पुन र रवि लामिछानेको ‘भ्रष्टाचार’ काण्डको रहस्य यस्तो



काठमाडौँ – केही दिनदेखि भाइरल बनेको नयाँ पत्रिकाको बाइलाईन राखेर बनाइएको जस्तो देखिने फोटोले बजार पिटेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले पत्रकार रवि लामिछानेलाई ‘भ्रष्टाचारी’ भनेकोबारे बनाइएको यो फोटो मा  शीर्षक छ – रवि लामिछाने ठूलो भ्रष्टाचारी हुन् : मन्त्री पुन

भाइरल ‘समाचार’ तस्वीर

ऊर्जामन्त्री पुनका प्रेस संयोजकले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै नयाँ पत्रिकामा यस्तोखाले समाचार प्रकाशित नभएको स्पष्ट पारेका छन् ।

‘पत्रकार रवि लामिछानेको सन्दर्भमा माननीय मन्त्रीज्यूले कुनै पनि टिप्पणी र भनाई सार्वजनिक नगरेको म स्पष्ट पार्न चाहन्छु । उहाँको हवाला दिँदै आएका समाचारहरू सबै असत्य भएको र मन्त्री पुनको भनाई, फोटो र नाम जोडेर नक्कली पत्रिका समेत बनाएको हामीले प्रारम्भिक अनुसन्धानको क्रममा फेला पारेका छौं,’ विज्ञप्तिमा लेखिएको छ ।

हेर्नुस् विज्ञप्तिको :-

माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ज्यूको भनाई भन्दै विभिन्न अनलाइन र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको छ । पत्रकार रवि लामिछाने ‘ठूलो भ्रष्टाचारी हुन्’ भन्ने शीर्षक राखेर नयाँ पत्रिकाको नक्कली कटिङ समेत बनाई समाचारमा माननीय मन्त्रीज्यूको भनाई भन्दै मनगढन्ते समाचार प्रकाशित गरेकोमा समेत हाम्रो आपत्ति रहेको छ । उक्त समाचारबारे हामीले नयाँ पत्रिकाका प्रधान सम्पादक कृष्णज्वाला देवकोटालाई बुझ्दा समेत समाचार नयाँ पत्रिका दैनिकको कुनै पनि पेजमा प्रकाशित नभएको समेत उहाँले स्पष्ट पार्नुभएको छ । त्यसैले यो खबर झूटो भएको जानकारी दिन चाहन्छौं ।

पत्रकार रवि लामिछानेको सन्दर्भमा माननीय मन्त्रीज्यूले कुनै पनि टिप्पणी र भनाई सार्वजनिक नगरेको म स्पष्ट पार्न चाहन्छु । उहाँको हवाला दिँदै आएका समाचारहरू सबै असत्य भएको र मन्त्री पुनको भनाई, फोटो र नाम जोडेर नक्कली पत्रिका समेत बनाएको हामीले प्रारम्भिक अनुसन्धानको क्रममा फेला पारेका छौं ।
म यसप्रकारका भ्रममा समेत नपर्न सम्बन्धित सबैमा आग्रह गर्दछु । साथै यस घटनाको कानूनी उपचार खोज्ने काम भइरहेको समेत आम जनसमुदाय र सञ्चारकर्मी साथीहरूलाई जानकारी दिन चाहन्छु ।

रोशन खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको प्रेस संयोजक