ऊर्जामन्त्री वर्षमान पुनले गरे कृषि क्याम्पसका लागि जग्गा दान - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

ऊर्जामन्त्री वर्षमान पुनले गरे कृषि क्याम्पसका लागि जग्गा दान



काठमाडौं– ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफ्नो जन्मथलो रोल्पाको माडीचौरमा स्थापित कृषि क्याम्पसका लागि ८ रोपनी दान गरेका छन् ।

पुनले रोल्पा नगरपालिका ७, माडीचौरमा रहेको कृषि तथा वन विज्ञान संकायअन्तर्गतको प्राकृतिक व्यवस्थापन क्याम्पसका लागि आफ्नो पैत्रिक सम्पत्तिबाट उक्त जग्गा दान गरेका हुन् ।

हरेक प्रदेशमा कम्तिमा एक कृषि क्याम्पस स्थापना गर्ने सरकारको नीतिअनुसार प्रदेश ५ को माडीचौरमा कृषि क्याम्पस स्थापना भएको हो ।

नवआगन्तुक विद्यार्थीको स्वागत तथा कक्षा सञ्चालनको शुभारम्भ गर्दै मन्त्री पुनले क्याम्पस निर्माणका लागि आफूले पैत्रिक सम्पत्तिबाट पाएको १० रोपनीमध्ये ८ रोपनी क्याम्पसलाई निःशुल्क उपलब्ध गराएको घोषणा गरे ।

मन्त्री पुनले प्राविधिक शिक्षामा लगानी बढाउने राज्यको नीतिअनुसारै आफूले गत वर्ष संसद विकास कोषबाट एक करोड र यस आर्थिक वर्षमा ३५ लाख रुपैयाँ क्याम्पसका लागि उपलब्ध गराएको पनि जानकारी दिए ।

यस्तै सहयोगी दातालाई आग्रह गरेर आफूले क्याम्पसका लागि ८ थान कम्प्युटर र प्रिन्टर दिएको सुनाए । विभिन्न जिल्लाबाट आएका विद्यार्थीलाई आफू घर, परिवार र आफ्नो ठाउँबाट टाढा गएर पढ्नुपरेको महसुस नगराउन क्याम्पसको भौतिक पूर्वाधारमा आफूले जोड दिएको र आगामी दिनमा पनि निरन्तर क्याम्पसको उन्नतिका लागि काम गर्ने प्रतिबद्धता मन्त्री पुनको थियो ।

यस्तै उहाँले आफ्नो मन्त्रालयमातहतको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रमार्फत तत्काल १० किलोवाटको सोलार सिस्टम अनुदानस्वरुप क्याम्पसलाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।

हाल नेपालले १५ खर्ब वैदेशिक व्यापारमध्ये १४ खर्ब घाटा व्यहोर्नुपरिरहेको भन्दै मन्त्री पुनले व्यापार घाटा कम गर्न कृषिमा लगानी गर्नुको विकल्प नरहेको दाबी गरे ।

यसैबीच मन्त्री पुनले रोल्पा नगरपालिका २ स्थित पिताराज आधारभूत विद्यालयको अक्षयकोषका लागि एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।

पुन पत्नीसमेत रहेकी पूर्वसभामुख एवं प्रतिनिधिसभा सदस्य ओनसरी घर्तीले पनि पिताराज आधारभूत विद्यालयको अक्षयकोषका लागि एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरिन् ।