पुकार बमलाई निर्वाचन आयोगले भन्यो- तपाईंलाई कारबाही किन नगर्ने ? - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

पुकार बमलाई निर्वाचन आयोगले भन्यो- तपाईंलाई कारबाही किन नगर्ने ?



काठमाडौँ — निर्वाचन आयोगले काठमाडौं क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुकार बमलाई आचारसंहिता उल्लंघनको आरोपमा स्पष्टीकरण मागेको छ । उम्मेदवार बमले नयाँबानेश्वर क्षेत्रमा चुनाव प्रचार प्रसार गर्ने क्रममा आफू र आफ्नो साथमा रहेका व्यक्तिहरूले पुकार बम नाम अंकित टिसर्ट लगाएको भन्दै सामाजिक सञ्जालमार्फत उजुरी परेको आयोगले जनाएको छ ।

आयोगले त्यही विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बमसँग स्पष्टीकरण मागेको हो ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचारण अन्तर्गत खण्ड (घ) मा ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नुहुने’ व्यवस्था रहेको उल्लेख छ ।

आयोगले सोही व्यवस्थाबमोजिम स्पष्टीकरण माग्दै पत्रमार्फत् भनेको छ, ‘तपाईँले निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो नाम अंकित टिसर्टको प्रयोग गर्दा गराउँदा निर्वाचन आचारसंहिताको उल्लंघन हुँदैन भनी पुष्ट्याइँ गर्ने आधार कारण के छ ? तपाईंबाट जानाजान रूपमा उक्त कार्य भएको भए तपाईँलाई निर्वाचन आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिबाना किन गर्नु नपर्ने हो ? यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा स्वयं उपस्थित भई वा आफ्नो प्रतिनिधि उपस्थित गराई लिखित स्पष्टीकरण पेस गर्नुहोला ।’

आयोगले सो अनुसार स्पष्टीकरण नआए प्रचलित कानुनबमोजिम कारबाही हुने समेत जनाएको छ ।