पुडासैनीले अस्मिताको साथीलाई फोन गरेर १२ बजे भेटौँ भनेपछि... - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

पुडासैनीले अस्मिताको साथीलाई फोन गरेर १२ बजे भेटौँ भनेपछि…



काठमाडौँ — चितवन नारायणगढको पोखरा बसपार्क स्थित कंगारु होटलमा गत साउन २० गते आत्महत्या गरेका माउन्टेन टेलिभिजनका पत्रकार किन चितवन नै पुगेका थिए भन्ने तथ्य खुलेको छैन । तर प्रहरी बयानमा माउन्टेन टेलिभिजनका क्यामेरामेन ओमबहादुर भुजेलले शालिकरामले आफू चितवनको रामनगरस्थित एक होटलमा स्टिङ गर्न जान्छु भनेर चितवन गएको बताएका छन् । भुजेल मृतक पत्रकार शालिकरामले नै चलाउने कार्यक्रम मिसन न्युजसँग आवद्ध थिए ।

कान्तिपुरलाई अदालत र प्रहरी स्रोतबाट प्राप्त विभिन्न कागजातहरुमा शालिकराम चितवन किन गएका थिए भन्ने तथ्य भने खुल्न सकेन। तर चितवन जानु पूर्व पत्रकार शालिकराम मानसिक रुपमा समेत तनावग्रस्त रहेको देखिन्छ। आत्महत्या प्रकरणमा थुनामा परेकी रुकु भनिने अस्मिता कार्कीकी साथीले समेत बयानमा चितवन जानु पूर्व सालिकले आफूलाई फोन गरेको कुरा बताएकी छन्।

आत्महत्याको केही दिन पहिले शालिकले समेत अस्मिताको सोही साथीलाई फोन गरी आफूले अस्मितालाई छोड्दै छु भनेर बताएका थिए। आत्महत्याको दिन बिहान ६ बजेर ४५ मिनेटमा शालिकले अस्मिताको सोही साथीलाई फोन गरी दिउँसो साढे १२ बजे भेट्न आउने बताएका थिए। अस्मिताको साथीले बयानमा भनेकी छन्, ‘जरुरी काम छ। तर सो कुरा अस्मितालाई नभन्नु भनेका थिए। तर त्यसपछि उनले मलाई फोन गरेनन्। ’

प्रहरी बयानका ती साथीले मृतक पत्रकार शालिकले आफू अविवाहित भनेर झुक्क्याएको विषयमा अस्मिताले चित्त दुःखाएको बताएकी छन्। अस्मिताले आफूसँगको कुराकानीमा शालिकले आफूलाई अझै पनि झुटो बोली दुःख दिइरहेको बताएकी थिइन्।