पर्यटन बोर्डको गठन गरि घोडाघोडी क्षेत्रको विकास गर्छौ : मुख्य मन्त्री भट्ट - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

पर्यटन बोर्डको गठन गरि घोडाघोडी क्षेत्रको विकास गर्छौ : मुख्य मन्त्री भट्ट



विशाल पाण्डेय/ सुखड ,कैलाली ।
सुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले पर्यटन बोर्डको गठन गरि घोडाघोडी ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने बताएका छन् ।

कैलाली घोडाघोडी नगरपालिका -१ सुखडमा सोमबारदेखि सुरु भएको घोडाघोडी महोत्वसको उद्घाटन कार्यक्रममा प्रमुख अथितिको आसनबाट बोल्दै मुख्य मन्त्री भट्टले प्रदेश सरकारले पर्यटन बोर्ड गठन गरि घोडाघोडी ताल क्षेत्र तथा घोडाघोडी नगरपालिकामा रहेका अन्य पर्यटकीय ठाउँहरुलाई ब्यवस्थित गरि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने बताएका हुन् ।

मुख्य मन्त्री भट्टले देशको विकास र समृद्बिको लागि आफ्ना क्षेत्रमा भएका प्राकृतिक स्रोत र साधनहरुको पहिचान गरि त्यसलाई योजनाबद्ध रुपमा परिचालन गर्न सरकार लागिरहेको बताए । उनले भने , ‘ हिमाल ,पहाड र तराइमिलि भौगोलिक रुपबाट सम्पन्न भएको सुदुर पश्चिम् प्रदेशमा भएका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रको पहिचान गरि पर्यटकहरुलाई त्यहाँसम्म पुगाउने प्रदेश सरकारको मुख्य उदेश्य हो ।’ मुख्य मन्त्री भट्टले
सुखड -भजनी सडक निर्माणकालागि प्रदेश सरकारले कम रकम छुट्याएपनि बहुबर्षिय रुपमा सडकको स्तरउन्नति गर्दै लैजाने बताए ।

सुदुर पश्चिम् प्रदेशमा प्रशस्त मात्रामा खोला नालाहरु भएकोले विद्युत उत्पादनका लागि स्थानीय तह तथा जनतासंग साझेदारी गरि उर्जाको काम अघि बढाउने मुख्य मन्त्री भट्टले बताए । साथै समाजमा भएका कुरिती , कुसंस्कार ,महिला हिंसा , अन्धविश्वास लगायतका कु-प्रथाहरुलाई अन्त्य गरि समाज रुपान्तरणको लागि प्रदेश सरकारले जनप्रतिनिधिको नेतृत्वमा जन-अभियान संचालन गर्न लागेको मुख्य मन्त्री भट्टले बताए । निर्मला पन्तको हत्यारालाई पत्ता लगाउनको लागि केन्द्र सरकार र प्रदेश सरकार लागी रहेको बताउदै मुख्य मन्त्री भट्टले ढिलो चाडो भएपनि निर्मला पन्तले न्याउ पाउनेमा आफु ढुक्क रहेको बताए ।

महोत्सव मुल आयोजक समितिका संयोजक तथा घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष जियालाल आचार्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा
प्रतिनिधि सभा सदस्य गौरीशंकर चौधरी, प्रदेश सभा सदस्य अमर बहादुर साउद, घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी , घोडाघोडी नगरपालिकाका १२ वटै वडाका वडाध्यक्ष, राजनितिक दलका प्रतिनिधी ,संघ संस्थाका प्रतिनिधी ,समाजसेवी ,ब्यापारी लगायतको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रममा भुवा नाच , भुम्रा नाच, सखिया नाच , मारुनी नाच , पञ्चेबाजा लगायतका अन्य प्रस्तुतीहरु रहेका थिए ।

“कला, संस्कृति, कृषि, पर्यटन र व्यापार, समृद्घ घोडाघोडी विकासको आधार” भन्ने मुल नाराका घोडाघोडी उद्योग वाणिज्य संघको आयोजना र घोडाघोडी सहायता केन्द्र तथा घोडाघोडी बहुउद्देश्य युवा मञ्चको सह–आयोजनामा
सोमबारदेखि सुरु भएको महोत्सव माघ २३ गतेसम्म चल्ने छ ।