क्वारेन्टाइन व्यवस्थापनमा खटिएका स्वयंसेवकलाई नगरपालिकाको प्रोत्साहन
विशाल पाण्डेय / कैलाली ।
क्वारेन्टाइन व्यवस्थापनमा दिन रात नभनी खटिएका स्वयं सेवकलाई घोडाघोडी नगरपालिकाले प्रोत्साहन स्वरुप केही रकम उपलब्ध गरेको छ । सोमबार घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी तथा उप प्रमुख प्रेम कुमारी थापाले क्वारेन्टाइनमा खटिएका ८ जना स्वयंसेवकहरुलाई उच्च सम्मान गर्दै चेक मार्फत रकम हस्तान्तरण गरेका हुन् ।
लामो समयदेखि क्वारेन्टाइन व्यवस्थापनमा खटिएका स्वयंसेवकलाई प्रोत्सान होस् भन्ने उदेश्यले जनही २० हजारको चेक मार्फत रकम उपलब्ध गराइएको घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले बताए । क्वारेन्टाइनमा आउने मानिसहरूलाई दिन रात नभनी अहोरात्र खटिएर खाना खुवाउने तथा अन्य व्यवस्थापनमा ठुलो सहयोग गरिरहनु भएको हुँदा ८ जनालाई नगरपालिकाले सम्मान गर्दै प्रोत्साहन सहित उक्त रकम उपलब्ध गराएको नगर प्रमुख चौधरीले बताए ।

नगरपालिकाले आफुहरुको कामको मुल्यांकन गरेर प्रोत्साहन स्वरुप सम्मान गरेकोमा नगरपालिकालाई धन्यवाद व्यक्त गरेका छन् । निस्वार्थ भावनाले नगर सरकारलाई आफुहरुले सहयोग गरीहरेको क्वारेन्टाइन व्यवस्थापनमा खटिएका स्वयंसेवक रमेश आचार्यले बताए । घोडाघोडी बहुमुखी क्याम्पसमा ब्यवस्था गरिएको क्वारेन्टाईनमा बस्नेहरुको लागि कुनै कुराको पनि समस्या नहोस भनेर स्थानीय युवाहरुले रातदिन जोखिम मोलेर सहयोग गरीरहेका छन् ।
नगरपालिकाले चैत १६ गतेदेखि करिब एक सय जना मानिसहरू बस्न मिल्ने गरि घोडाघोडी क्याम्पसमा संचालनमा ल्याएको क्वारेन्टाइनमा हाल भारत तथा नेपालवाट आएका ७१ जना मानिसहरू रहेका छन् । उनीहरुलाई केहिदिन राखेर र्यापिड टेस्टमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइने नगरपालिकाले जनाएको छ ।