प्रेस संगठनद्वारा सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण
कैलाली । प्रेस संगठन नेपाल कैलाली शाखाले कैलालीमा कार्यरत् सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री बितरण गरेको छ । कैलालीका १ सय २५ जना सञ्चारकर्मीहरुलाई आज कैलाली शाखाले स्वास्थ्य सामग्री बितरण गरेको हो ।
संघीय सरकारका सांसद नारदमुनि रानाको आर्थिक सहयोग एबं सुदूरपश्चिम फाउण्डेशनको सहकार्यमा करिब डेढ लाख बराबरको एन नाइन्टी फाइभ मास्क, सर्जिकल मास्क, ग्बोल्बस, सेनिटाइजर र प्रेस ज्याकेट बितरण गरिएको प्रेस संगठन नेपाल कैलाली शाखाका अध्यक्ष हरिश बि.क.ले जानकारी दिए ।
कोरोना भाइरस (कोभिड १९) ले पूरा विश्वलगायत देशलाई नै आक्रान्त भनाइरहेको बेला फ्रन्ट लाइनमा काम गर्ने कैलालीका सञ्चारकर्मीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री बितरण गरिएको अध्यक्ष बि.क.ले बताए । यस्तो महामारीमा ज्यान दाउमा राखेर आमनागरिकलाई समाचार, सूचना र सन्देश प्रवाह गरिरहेका सञ्चारकर्मीहरुलाई प्रदेश तथा स्थानीय सरकारले सहयोग नगरेको विकले बताए । उनले भने–“अरुबेला नभए पनि यस्तो बेलामा त सामान्य भएपनि स्वास्थ्य साम्रगी बितरण गरेर ज्यान जोखिममा राखेर सञ्चारकर्मीको भूमिका निर्वाह गरिरहेका पत्रकारहरुलाई हौसला प्रदान गर्न नसक्नु दुःखद कुरा हो ।”