साझा पार्टी भन्छ - आइफा अवार्डको खर्च सरकारले किन बेहोर्ने ? - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

साझा पार्टी भन्छ – आइफा अवार्डको खर्च सरकारले किन बेहोर्ने ?



आइफा अवार्ड समारोहको खर्च नेपाल सरकारले बेहोर्ने कुराप्रति साझा पार्टीले आपत्ति जनाएको छ। कुनै निजी विदेशी संस्थाका लागि त्यत्रो खर्च अनुचित र असान्दर्भिक रहेको पार्टीको निष्कर्ष छ।

यसअघि विभिन्न मुलुकमा भएका आइफाका अवार्ड कार्यक्रमका लागि कुनै पनि मुलुकले यसरी खर्च नदिएको जनाउँदै यो निर्णय तत्काल फिर्ता लिन सरकारसँग आग्रह पनि पार्टीले गरेको छ।

विज्ञप्ति यस्तो रहेको छ:

प्रेस विज्ञप्ति:

आइफा अवार्डको खर्च सरकारले व्यहोर्ने बारे

एक विदेशी निजी संस्थाको आयोजनामा काठमाडौँमा हुने भनिएको फिल्म अवार्ड समारोह (आइफा) को सम्पूर्ण खर्च नेपाल सरकार आफैँले व्यहोर्ने खबरले साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

सरकारको निर्णय मार्फत् ४४ करोड कार्यक्रमको लागि दिने र आगन्तुकहरूको सम्पूर्ण खर्च समेत सरकारले नै व्यहोर्ने निर्णय अनुचित र असान्दर्भिक रहेको साझा पार्टीको ठहर छ। 

यस अघि विभिन्न मुलुकमा भएका यही कार्यक्रमको लागि सरकारी तहबाट कुनै प्रकारको आर्थिक सहयोग नरहेको समेत जानकारीमा आएको छ।

निजी संस्थाको कार्यक्रमको लागि बिना औचित्य करोडौँ खर्चिने सरकारी निर्णय राज्यकोषको चरम दुरुपयोग भएकोले उक्त निर्णय फिर्ता लिन र नेपाली चलचित्र क्षेत्रको विकासमा केन्द्रित हुन सरकारलाई साझा पार्टी आग्रह गर्दछ। 

सूर्यराज आचार्य
प्रवक्ता, साझा पार्टी