प्रेसदेखि किन डराउँछन ओली ? - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

प्रेसदेखि किन डराउँछन ओली ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत १३ जनाले राजीनामा दिएका थिए । १३ जना मध्ये ६ जनाको राजीनमा स्वीकृत भएको छ । ६ जना प्रधानमन्त्रीको सचिवालयबाट रिङ आउट हुँदै गर्दा सात जनाको जागिर भने सुरक्षीत भएको छ ।

बालुवाटार स्रोतका अनुसार रिङ आउट हुनेमा अधिकांश प्रेससँग सम्बन्धित व्यक्ति छन् । प्रेस सल्लाहकार कुन्दन अर्याल, प्रेस संयोजक चेतन अधिकारी, फोटो पत्रकार कृष्ण पौडेलको राजीनामा स्वीकृत भएको छ । उनीसँगै जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, सचिवालयमा कार्यरत घनश्याम भट्टराई र  कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा स्वीकृत भएको छ । 

प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायत अन्य सात जनाको राजीनामा स्कीवृत भएको छैन् । 

उनीहरुले मंसिर १ गतेदेखि लागू हुनेगरी यसअघि राजीनामा दिएका थिए । प्रधानमन्त्री ओली सचिवालयका केही कर्मचारीको कार्यशैलीप्रति असन्तुष्ट रहेको बताइएको थियो ।

आफू नयाँ शिराबाट अघि बढ्न खोजेको र यसका लागि सबैको राजीनामा आवश्यक रहेको बताउँदै उनले सबै कर्मचारीलाई सचिवालयबाट राजीनामा दिन लगाएका थिए । उनले सचिवालयको गोपनियतामा समेत प्रश्न उठाएका थिए ।

बालुवाटार स्रोतले पनि प्रधानमन्त्रीले सेवा आवश्यक ठानेकालाई राखेको र सेवा आवश्यक नठानेकालाई हटाएको प्रतिक्रिया दिएको छ । 

आलोचना सहन नसक्ने र प्रेसप्रति रुष्ट रहेको व्यक्तिको छवी बनाएका प्रधानमन्त्री ओलीले प्रेससँग सम्बन्धित तीन जनालाई एकै पटक हटाउनुले यो कुरालाई थप बल पु-याएको छ । यसबाट के प्रस्ट बुझ्न सकिन्छ भने प्रधानमन्त्री ओली सञ्चार संयोजनको काम प्रति त्यति सन्तुष्ट थिएनन् । 

उनले सचिवालयबाटै गोप्य सूचना चुहिने गरेको भन्दै पटक–पटक रोष समेत प्रकट गर्दै आएका थिए । सचिवालय पुरै हेरफेर गर्ने भन्दै सबैलाई सामूहिक राजीनामा दिन लगाउनु र अहिले प्रेससँग सम्बन्धित तीनै जनासहित छ जनालाई सचिवालयबाट हटाउनुले ओलीको निसाना प्रस्ट भएको बताइएको छ ।

यस्तै प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा समेत जुटेका छन् । यसका लागि उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरिसकेका छन् । 

प्रधानमन्त्री स्रोतका अनुसार उनी सबैभन्दा बढी सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, खानेपानी मन्त्रालय चलाइरहेकी बिना मगर, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल,युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईका कार्यबाट असन्तुष्ट छन् । यी मन्त्रीलाई फेरेर नयाँ मन्त्री ल्याउने दाउमा ओली छन् ।