प्रेम ! उसको अनि मेरो । - Himal Post Himal Post
  • १२ जेष्ठ २०८१, शनिबार
  •      Sat May 25 2024
Logo

प्रेम ! उसको अनि मेरो ।



-हाउडे 

आज छुट्टीको दिन ! यो परदेशमा छुट्टी भनेपछि छुट्टै मजा । घरदेशमा जस्तो सुतेर दिन कट्दैन , छुट्टीको अघिल्लो रात आँखा झपक्क हुदैनन अनि नेपालमा भाले बासे जस्तै यता मोबाइल बास्छ । दुई चार पटक आलार्म बन्द गरे पनि आँखा बन्द हुदैनन अनि उठिन्छ जुरुक्क ।

मोबाइलको घडीमा पाँच बजेकै थिएन , बाहिर अझै अँध्यारो । छुट्टीमा रमाइलो गर्नु पर्छ भनेर जमघट हुने समय भएकै छैन । समय कटन मुस्किल परेपछि मोबाइलमा डाटा अन गरे । डाटा अन गरेको दस सेकेण्डमै पररररर म्यासेजमा ट्युन बजे । फेसबुक म्यासेन्जर खोलेर हेरे ।

“दीपक ! आइ लभ यु । आज भेट्ने ल ”  मोनिकाको यस्तो म्यासेजले मेरो शरीरमा काँडा उमार्दियो । म्यासेज मोनिकाकै हो या अरू कसैको हो भनेर म्यासेज पठाउने बालाको प्रोफाईल खोलेरै हेरे । छक्क पर्दै ट्वाँ परेर हाँसेको इमो मात्र रिप्लाई गरिदिए ।

शरीर तन्काउदै बिस्तरा बाट उठे । बाथरुममा लाइन लाग्न पर्ने गरी भिड थियो , बाहिर झ्याङमा गएर तुर्काईदिए । उता रुमको बंगालीले झपार्दै भन्यो “ साला गाण्डु ! दुसरा कमरा तरफ सुसु कर्ता हे ? “

मैले तुर्काउदा तुर्काउदै बिचमा रोके अनि किच्च दाँत देखाउँदै हासिदिए । उ भित्र गयो , म आफ्नै रुममा आए ।

बोतलको पानीले आँखा भिजाए , अलिकति पानी हातमा लिएर कुल्ला गरे । टबेलले मुख पुछ्दै सिसामा अनुहार नियाले । हेन्समै थिए , गोरो चट्ट परेको ।

टबेलले नै दाँत घोटे , बिस्तराको सिरानमा भएको एउटा चुईगम चपाउदै कपडा लगाए । अनि फेरि मोबाइल तिर आँखा दौडाए । स्क्रीन अन गरेको फेरि मोनिकाकै म्यासेज ।

“ रियल्ली दीपक ! आज भोलि तिमीलाई मन पराउँदै छु । ” मोनिकाको मीठो म्यासेज पढेपछि म झन् उत्ताउलो भए ।

मुहारमा हाँसो भर्दै रिप्लाई गरे “ आइ कान्ट बिलिभ फरम योर साइट ! बट स्टिल आई लभ यु डियर ।”

म साँच्चै आज पागल जस्तै भएको छु । म के गर्दैछु भन्ने म आफैलाई थाहा छैन । मेरो हरकत देखेर रनेदाई रिसाए । उनले झपार्दै भने “ छपक्क लागेर सुत बे ! कति यता उता गरेको ? छुट्टीको दिन पनि मजाले सुत्न दिँदैन साले ।”

उनी रिसाएपछि म अलि कन्ट्रोल भए । अनि बिस्तारै लुगा लगाइरहे ।

बिस्तरामा भएको मोबाइलमा म्यासेज आयो । यो पटक म्यासेन्जरमा म्यासेज आएको थिएन । सिधै नम्बरमा आएको थियो । चोर बिरालोको चालमा मोबाइल टिपे , एस एम एस हेरे ।

दुबईको दूर सञ्चार कम्पनी डु कम्पनीले पठाएको म्यासेज रहेछ । पैसा सकिएको म्यासेज । निधार चाउरी परे , मन खिन्न भयो । मोबाइलमा ब्यालेन्स चेक गरे । सबै जिरो ।

अब मोनिका सँग गफिने अरू उपाय थिएन । मोबाइलमा ब्यालेन्स छैन , नेट डिस्कनेक्ट भैगो । म फेरी बिस्तरामै ढले ।

पन्द्र मिनेटपछि कल आयो । फेरि रने दाइ रिसाउँदै भने “ ओए ! त बाहिर जा । “

म मोबाइल टिएर सुटुक्क बाहिरिय ।

“ हेल्लो !” म सुस्त , आफैले मात्र सुन्ने स्वरमा बोले ।

“ किन अफ भएको डार्लिङ ? ” उताबाट मोनिका बोली ।

मैले मोबाइलको स्क्रीन हेरे , नम्बर छुट्टै थियो । आश्चर्य पर्दै सोधे “ मोनिका हो ? “

“ हो नि लाटा ! चिन्न पनि छाडेको ? ” उ हसिलो स्वरमा बोली ।

“ तिम्रो नम्बर हैन नि यो , त्यसैले सोध्या । ” मैले स्पष्टीकरण दिए । अनि भने “ मेरोमा ब्यालेन्स सकियो त्यसैले अफ भएको ।”

उ खित्का छाडेरै हाँसी अनि भनी “ कन्जुस बाहुन ! अनि नेट पनि डाटा बाटै चलाउँछौ कि क्या हो ?”

मेरो अवस्था उसलाई के थाहा । उ मलाई सुविधा सम्पन्न अपार्टमेन्टमा बस्ने स्किल्ड लेबरको रूपमा बुझेकी छे । तर आफ्नो अवस्था यहाँ दयनिय छ । कन्टेनरको डिब्बालाई रुम बनाएर बालुवाको बिचमा बस्ने बारे उ अनभिज्ञ छे । उसको मायाको खातिर चौबिस घण्टा अनलाइन डाटा बाटै बस्छु भन्ने पनि उ बुझ्दिन । त्यसैले त उ मलाई कन्जुस देख्छे । म अनलाइन बस्न कै लागी दैनिक कति दिराम खर्चिन्छु त्यो उसलाई के थाहा ।

मनले धेरै कुरा सोच्न थालेपछि म उ सँग बोल्न बिर्सिएछु । उसले मेरो मौनता चिर्दै भनी “ आज भेट्ने ल ।”

मैले जिस्काउदै भने “ तिमी मलाई मन पराउँदिनौ । किन भेट्नु ? वाहियात !”

उ निराश भएको स्वरमा भनी “ अस्ति सम्म तिमी मेरो को हौ भन्ने लाग्थ्यो तर आजभोली तिमी नै सबै थोक लाग्न थालेको छ । तिम्रै हुन मन छ । रियल्ली दीपक ! आइ लभ यु सो मच यार ।”

म फिलिङ लभमा परे । महिना म उसको लागी छटपटिन्थे , आज उ छटपटिएको महसुस आफैले गरे । उसलाई जिस्काउन मन लाग्थ्यो । आज पनि जिस्काउदै भने “ लभ चैँ तिमी सँगै गर्ने हो , तर बिहे चैँ नेपाल गएर बा आमाले हेरेकै सँग गर्ने हो म चैँ ।”

उ रिसाई सायद , अलि चर्को स्वरमा भनी “ नट्टि ब्याय ! एक पटक मेरो हुन देऊ , तिमीलाई मेरै वरिपरि नाच्ने बनाउँछु ।”

म हाँसे , उ चुप बसी । अनि उसको मौनतालाई तोडदै भने “ कहाँ भेटेन डियर ? “

“ तिमी आफै भन , मलाई नाइट ड्युटी जानू पर्छ । छिट्टै फर्कने ठाउँ भन ल । ” उसले भेट्ने ठाउँ को जिम्मा मलाई दिई ।

“ दुबई मलमा आऊ , यतै भेटौला ।” मैले ठाउँ बताए । उसले फिक्स गरी ।

उ अबुधाबीबाट आउँथी , म दुबईबाट जान्थे । मलाई मेट्रो चढ्न पर्ने , उ बस चढेर आउँथी । हाम्रो लभ पार्कको रूपमा दुबई मल स्थापित हुने भयो । मनमा यस्तै मिठा सपना सजाउँदै तयार भए ।

अघिल्ला दुई भेट एकतर्फी मायामा केन्द्रित थिए । म एकोहोरो उसलाई मन पराउँथे । उ मलाई एउटा असल साथीको रूपमा बुझ्थी तर म भित्र प्रेमका अनगिन्ती कथा थिए । एक नजर हेर्न आतुर आँखा थिए , उसकै लागी धडकिने मुटु थियो अनि उसको मात्र कल्पना गर्ने दिमाग थियो । म जे थिए सबै उसैको थिए ।

आज तेस्रो भेटमा उसले मलाई अँगालोमा बेरेर प्रपोज गर्नेछी , म लजाउदै उसलाई अँगालोबाट छुटाउने छु । यस्तै यस्तै कल्पनाले मेरो दिमाग बम्म फुल्यो ।

उसले भनेकै समयमा पुगिएन भने उ सँग पर्याप्त समय बिताउन सकिन्नथ्यो । अनि उ रिसाउँथी । उ रिसाउँदा पनि राम्री देखिन्थी तर म आज उ हाँसेको मात्र हेर्ने मुडमा थिए । जीवनमा पहिलो पटक कुनै केटीले आफै प्रपोज गरेकी छे , आफै भेटौँ न प्लिज भनेर आग्रह गरेकी छे । यति मीठो मौका म गुमाउन चाहिन ।

गोजीमा भएको पचास दिराम बोके । पर्समा आर टि ए को कार्ड छ्दैथियो । बिस रुप्पेको रिचार्ज गरियो भने मलाई अरू आवश्यकता पर्थेन । तीस दिराम चोखो बचत थियो ।

मनभरि उसको हसिलो अनुहारलाई सजाउँदै म दुबई मलका लागी मेट्रो चढ्ने स्टेसन तर्फ लम्किए ।
क्रमशः