प्रेममा राजनीति ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रेममा राजनीति !



– कृष्ण आचार्य

एक्कासि उनको घरबाट छोरी नदिने निर्णय गरेछन् । त्यतिमात्र कहाँ हो र, बिहेसमेत फिक्स भइसकेछ । एमाले कार्यकर्तासँग ।
०००
उनको परिवार माओवादी थियो भने मेरो काँग्रेस । त्यसो त मलाई राजनीत दल र नेताको झन्डा पोकेर हिँड्न खासै इन्ट्रेस्ट थिएन । त्यै पनि राम्रै चासो र जानकारी भने थियो । घरका सबै काँग्रेस भएकाले धेरैले मलाई पनि काँग्रेस नै भन्थे । म के हुँ, कुन पार्टीको समर्थन गर्छु भन्ने मलाई नै थाहा थिएन । किनकि मलाई नेता बन्नु थिएन ।
०००
हाम्रो प्रेम सम्बन्ध गाँसिएको २ वर्षपछि उसको परिवारले थाहा पायो । उनको भाइले फनपार्कमा फन गरिरहेको बेला देखेर घरमा भनिदिएको रे । त्यति बेला काँग्रेस, माओवादीको संयुक्त सरकार थियो । एक दिन उनको बाबुको फोन आयो । र, भने, ‘तपाईँ शर्मिलासँग प्रेम गर्नुहुँदोरहेछ , खुसी लाग्यो । पार्टी पनि गठबन्धनकै परेछ । परिवार पनि राम्रै रहेछ । तपाईँको बुवालाई नचिन्ने सायदै होलान् । उहाँहरूलाई लिएर आयर बिहेको कुरा गर्नु पर्‍यो । यसरी लुकिलुकी कतिदिन हिँड्न्हुन्छ ।’
०००
बाबुको बानी थाहै पाएरै होला शर्मिलाले हाम्रो परिवार काँग्रेस भएको भनिदिएकी । बाबु पनि एक पटक सांसद भइसकेकाले धेरैले चिन्थे । ससुराको कुरा मलाई ठिकै लागेको थियो । बिहे गर्ने उमेर पनि भएको र घरबाट पनि दबाब आएकाले धेरै सोचिरहनुपर्ने आवश्यकता नै थिएन । तर, त्यसका लागि मङ्सिर कुनुपर्ने भयो । साउन, भदौँमा कहाँबाट होस् लगन ।
०००
द्वै परिवारका सदस्यबीच कुराकान िभयो । बुबा र ससुरा बा निकट हुँदै गए । भेट्ने र राजनीतिका कुरा गर्ने, काँग्रेस–माओवादी मिल्नुपर्छ भन्नेसम्मका कुरा गर्न थाले । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा काँग्रेस–माओवादी मिलेर एमालेलाई धुलो चटाउने कुरा पनि गर्थे । तर, मलाई यी कुरामा कुनै इन्ट्रेस्ट थिए । थियो त केवल शर्मिलामा । कहिले मङ्सिर आउने भनी छटपटाहाट थियो मनमा ।
०००
मङ्सिर पनि आयो । तर, बिस्तारै ससुरा बा हामीदेखि टाढाटाढा हुँदै थिए । जबदेखि एमाले–माओवादी गठबन्धन बन्यो तबदेखि बुवासँग भेट्न नि छाडेका थिए । उनी असन्तुष्ट छन् रे, मसँगको भेटमा शर्मिला सुनाउँथि । भन्थी, ‘बुवाले त अब गठबन्धन फेरियो । तेरो बिहे एमालेसँग गरिदिने हो ।’ उसको कुरा सुनेर म निराश हुन्थेँ । उ पनि आँखाबाट पिलपिल आँसु झार्थि । म सम्झाउँथे । अँगालोमा बेरेर गालामा चुम्बन गरेपछि फकिन्थी पनि । तर, भित्रभित्र मन जलेको कसले देखोस् ।
०००
कात्तिक अन्तिम साता बुवा छोरी माग्न ससुरा बाकोमा जानुभो । तर, उनले गठबन्धन फेरिएकाले छोरी दिन नसक्ने बताएछन् । देउवा गठबन्धन विरुद्ध खनिएकाले झनै असम्भव हुँदै गयो रे । उनको कुरा सुनेर बुवा निराश हुँदै फर्कनुभयो । त्यसपछि पनि पटकपटक गरिएको प्रयास असफल भयो ।
०००
मैले शर्मिलासँग भाग्ने योजना सुनाएँ । तर, उसले मानिन । बाबुआमालाई धोका दिन सक्दिन रे । अनि मलाई ? यो प्रश्न मैले उसउलाई कहिल्यै गरिन । किनकि हाम्रो प्रेममा राजनीतिक हाबी भएको थियो । खै यो कस्तो राजनीति हो मलाई थाहा छैन । तर, हुन नसकेका मेरा ससुरा बालाई यत्ति कुरा भन्न चाहन्छु कि भोलि एमाले–माओवादी गठबन्धन टुटेर अर्को पार्टीसँग गठबन्धन बन्यो भने एमालेसँग बिहे गरेर गएकी छोरीलाई फेरि नयाँ गठबन्धनको कार्यकर्तासँग बिहे गर्न दबाब नदिनुहोला ।