पर्याय - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

पर्याय



सन्ध्याको मन्दता माथि जब वर्चस्व जमाउँछ निशाले
सनै – सनै उदाङ्गिएको धमिलतामा
जब बर्सिन थाल्छ घनघोरताको कालो वर्षा

मानौँ
तिमी आउँछौँ कतै वाट
र युद्ध गर्छौ चकमन्नता सँग प्रकाशको

त्यही मधुर प्रकाशमा
म तिमीलाई मध्यरात सम्म नियाल्छु सुदूर आकाशमा ।

त्यसैले प्रियतम !
मलाइ “तिमी र जून” उस्तै- उस्तै लाग्छ ।

जसरी
तिमी उभिएको छौ अन्धकारको विरुद्ध
प्रज्वलित हुन चाहन्छौ
हरेक चकमन्नताको विरुद्ध
अनन्त रोशनी बनेर
प्रकाश बाल्न अन्धविश्वासका काल रात्रिहरूमा,
सामाजिक असमानताका
विभेदपूर्ण काल कोठरिहरूमा ।

त्यसरी नै देख्छ जूनले
हरेक रातको अन्धकारमा
उज्यालो यात्रा गर्ने सपना ।

हो ! तिमीले पनि देखेकै हो —

सुदूरका दुर्गम बस्तीहरूका
अभावले ग्रस्त झुपडीहरूमा
अन्धकार धपाउन
आशाको तेल राखी पानसे बत्ती बनेर
स्वयं प्रज्वलित हुने एउटा सुनौलो सपना ।

हो तिमीले देखेकै हो —

गाउँ गाउँमा जर्जर गरिबीले फुकेर
निभेका अँध्यारा मानसिकताहरूमा
उच्च र फराकिलो
चेतनाको भर्भराउदो आगो सल्काउने
अर्को उज्यालो सपना ।

हो तिमीले देखेकै हो —

सदियौं देखि दबाइएको दमित अस्तित्व स्विकारेर
परिवार,घर , समाज लगायत
पितृसत्तात्मक सोचले ग्रस्त
र गाउँका धनाढ्य भनिने कथित भलाद्मीहरूको
दुर्व्यवहार सहन लाचार
महिलाको मनस्थितिमा
आत्मविश्वासको जागृत टुकी बाल्ने सपना ।

हो तिमीले देखेकै हो–

मौनताको ताल्चा ठोकिएका
बन्दी स्वरहरूमा
प्रतिकारको सशक्त आवाज
बुलन्द गराउने
हौसलाको चहकिलो अझ अर्को घाम जस्तै सपना ।

हो तिमीले देखेकै हो —

धनी गरिब , वर्ग हीन समाज
कथित छुवाछुत , तल्लो- माथिल्लो जात
मान्छे – मान्छे बिचको असमानता
दुरव्यवहार ,
घृणित समाजका पिछडिएका सोचहरूमा
वैचारिक चेतनाको झिलमिलाउदो झिल्का फाली
सम्पूर्ण विभेदताको अन्त्य गरी
स-समानताको प्रकाश छर्ने
उज्यालो अभियानको सपना ।

हो तिमीले देखेकै हो —

यस्तै – यस्तै
परिवर्तनका भयांकर अझ थुप्रै – थुप्रै सपना ।

तर ,
न आउने होइनन्
तिम्रो सङ्घर्षको सफरभरी
अनगिन्ती परिस्थितिका, प्रतिकूलताका
अमावस्या रातहरू

जसरी आँउछ्न् जूनको यात्रामा
औंशिका भयावह काला रातहरू ।

त्यसै गरी
न आउने होइनन्
बहिष्कारको कालो पर्दा बोकेर
निशाचरहरू,

अँध्यारोको संरक्षण गर्न
उज्यालोको नाश गर्दै अँध्यारो बिच्छाउन
तिमीले यात्रा गर्ने बाटोहरूमा

अवरोधको भाला बोकेर प्रहार गर्दै
परिवर्तनको उडान भर्न नतमस्तक
बुलन्द तिम्रा हौसलाका पखेटाहरूमा ।

जसरी आइ लाग्छन् स- साना ग्रहणहरू
धावा बोल्न जूनको अस्तित्व माथि पनि
र पनि यात्रा गरिरहेकै हुन्छ जूनले
अन्धकारको विरुद्ध प्रकाशको यात्रा ।

प्रियतम ,
जब रात पर्छ ,
अँध्यारो फैलिन्छ ,
जून उदाउँछ
तब म तिमी देख्छु जूनको अनुहारभरी ।

नियाल्छु तिम्रै प्रतिछाँया देख्छु
समर्थनको एक्यवद्धता जनाउँछु मनननै
तिम्रो अँध्यारोको यात्रामा सरिक भएर दूरबाटै !

एउटै- एउटै छ
जूनको र तिम्रो सङ्घर्षको गाथा पनि

उ रातको अन्धकारमा यात्रा गर्ने
तिमी सामाजिक अन्धकारमा यात्रा गर्ने

दुवै अँध्यारोको यात्रु
अन्धकारमा सङ्घर्ष गर्ने
तर सङ्घर्ष सिर्फ उज्यालोको निम्ति ।

सन्ध्याको मन्दता माथि जब वर्चस्व जमाउँछ निशाले
सनै – सनै उदाङ्गिएको धमिलतामा
जब बर्सिन थाल्छ घनघोरताको कालो वर्षा
मानौँ
तिमी आउँछौँ कतै वाट
र युद्ध गर्छौ चकमन्नता सँग प्रकाशको
त्यही मधुर प्रकाशमा
म तिमीलाई मध्यरात सम्म नियाल्छु सुदूर आकाशमा ।

त्यसैले प्रियतम !
मलाई तिमी र जून उस्तै- उस्तै लाग्छ ।।

सुमिना “अभिलाषी”
बुटवल रुपन्देही ।