प्रवासी युवाहरू भन्छन नेपाली राजनीतिमा युवाहरूको भूमिका महत्त्वपूर्ण छ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रवासी युवाहरू भन्छन नेपाली राजनीतिमा युवाहरूको भूमिका महत्त्वपूर्ण छ



नयाँ दिल्ली

नेपाली राजनीतिमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुनेमा प्रवासी युवाहरूले जोड दिएका छन् ।

भारतको राजधानी दिल्लीमा नेपाल तरुण दल भारत, दिल्ली शाखाले आयोजना गरेको नेपाली राजनीतिमा युवाहरूको भूमिका विषयक गोष्ठीमा बोल्दै वक्ताहरूले दलगत रूपमा नेतृत्वको निर्देशन मान्नु भन्दा पनि गलत काममा युवाहरूले खबरदारी गर्नुपर्ने बताएका हुन् । यसै गरी न केवल राजनीतिक रूपमा साथै देशको समृद्धिमा पनि युवाहरूको भूमिका महत्त्वपूर्ण हुने धारणा वक्ताहरूले राखेका छन् ।

आजका युवाहरू नै भोलिका नीतिनिर्माता भएकाले समाजका लागि उपयुक्त र देशका लागि घातक नेतृत्वको निर्णयलाई पहिचान गरेर समर्थन वा विरोध गर्नु पर्नेमा जोड दिएका छन् ।

समारोहमा युवाहरूले पार्टीको निर्देशन हुँदा पनि सही गलतमा विशेष ध्यान पुर्‍याउनु पर्नेमा तरुण दलका नेतृत्व अन्य भातृसंगठनका प्रतिनिधिले बताएका थिए ।

नेपाल तरुण दल भारत, दिल्ली शाखाका अध्यक्ष एलपी पाण्डेले सभापतित्व गरेको उक्त  कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए  भने नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे र नेपाल तरुण दल भारतका अध्यक्ष राहुल रेग्मी विशिष्ट अतिथिका रूपमा उपस्थित‌ थिए  ।

कार्यक्रममा  नेजस उत्तर भारत समितिका अध्यक्ष कृष्ण पाण्डे, महासचिव रुद्र मल्ल, अखिल भारत नेपाली एकता मञ्चका आर बी खड्का, सिए विद्यार्थीसंघ  भारतका अध्यक्ष राहुल यादव, हातेमालो नेपाली स्टुडेन्ट्स ग्रुपकी अध्यक्ष आयुस्मा अर्याल र अन्य सामाजिक सङ्गठनका प्रतिनिधि लगायत प्रवासी नेपालीहरूको उपस्थिति रहेको थियो । समारोहमा स्वागत मन्तव्य कर्ण बुढाले गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रकाश पाण्डेले गरेका थिए ।

तस्बिर :गोपाल भारद्वाज