यी हुन् प्रसाद खुवाएर लुट्ने लुटेरा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

यी हुन् प्रसाद खुवाएर लुट्ने लुटेरा



विराटनगर । मोरङ लेटाङमा शिवजीको प्रसाद हो फलिफाप हुन्छ भन्दै दम्पतीलाई नै बेहोस बनाएर नगद र गहना लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत असर १७ गते अन्दाजी साढे ६ बजे साँझ लेटाङ नगरपालिका ५ मा बसोबास गर्ने वर्ष ३९ की सुनिता लिम्बुको घरमा ओत लाग्न भनि आएका अपरिचित २ व्यक्तिहरूले नगद र गहना लुटपाट गरेका थिए । निकै लामो समयपछि घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

सुनीताको मोबाइल मागी फोनमार्फत ‘हामी सँग नगद रू ५ लाख छ राखि दिनु’ भन्ने शब्द प्रयोग गर्दै विभिन्न मानिसहरुलाई फोन गरी सकेपछि सुनिता लिम्बु र उनका श्रीमान वर्ष ४५ को प्रेम लिम्बु समेतलाई ‘यो शिवजीको प्रसाद हो यसले फलिफाप गर्छ’ भन्दै रातो टिका लगाई दिएका थिए ।

उक्त प्रसाद लगाए पश्चात दुबैजना अर्धचेत हुन पुगेको र सोही समयमा निज सुनिताले लगाएको सुनको सिक्री, कानमा लगाउने पिंजडा, सुनको बाला र नगद रू ५ हजार समेत गरी अनुमानित रू २ लाख बराबरको नगद तथा गरगहना चोरी भएको थियो । लिम्बू दम्पतीले चोरी गरी लगेको जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएको कार्यालयका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनले भने,‘‘घटनामा संलग्न व्यक्तिहरुको बारेमा अनुसन्धान गर्ने क्रममा लामो समयसम्मको निरन्तर प्रयास पश्चात वैसाख ४ गते सुनसरी इटहरी उपमहानगरपालिका १७ बस्ने बर्ष अन्दाजी २५ की हजरा खातुन, सोही स्थान बस्ने वर्ष २९ को महमद अलीलाई पक्राउ गर्न सफल भएका हौं ।’’ उनीहरुलाई विराटनगर महानगरपालिका वडा नं. ४ बरगाछी चोकबाट पक्राउ गरिएको श्रेष्ठले बताए ।

पक्राउ भएका प्रतिवादीहरूलाई मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ बमोजिम जिल्ला अदालत मोरङबाट बिहीबार म्याद थप गरी इलाका प्रहरी कार्यालय लेटाङबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।