प्राणनाथको नेपाल - Himal Post Himal Post
  • ६ फाल्गुन २०८०, आईतवार
  •      Sun Feb 18 2024
Logo

प्राणनाथको नेपाल



डा. गोबिन्द शरण उपाध्याय

निश्चय नै प्रणामी सम्प्रदाय (जसलाई कृष्ण प्रणामी, निजानन्द सम्प्रदाय पनि भन्ने गरिन्छ) वैष्णवहरूका अनेकौं सम्प्रदाय मध्ये एउटाको प्रतिनिधित्व गर्छ । माधुर्यभाव सहितको भक्तिधारामा विश्वास राख्ने यो सम्प्रदायले भगवान् श्रीकृष्ण (राजश्यामाजी) को ११ वर्ष तथा ५२ दिनभित्रको अवस्थालाई मात्र आराधना गर्छ र तेस वाहेकको कृष्णको रूपलाई विष्णुको अवतार मान्छ । कसैसंग भेट्दा र छुट्टिदा प्रणाम भन्ने र सहयात्रीलाई सुन्दरसाथ भन्नेहरू नै प्रणामी हुन्छन् भनेर बुझ्न सजिलो छ ।

कृष्ण प्रणामी सम्प्रदायको स्थापना हाल पाकिस्थानको सिन्ध प्रान्तको एउटा जिल्ला उमरकोटमा जन्मिएका देवचन्द्र ((१५८१–१६५५) र भारतको गुजरात प्रान्तको जामनगरमा जन्मेका उनका शिष्य मेहराज भनिने गूरू प्राणनाथ (१६१८–१६९४) ले गरेका हुन् ।

भन्न त देवचन्द्रजीलाई निम्वार्क सम्प्रदायका अनुयायी थिए भन्नेहरू पनि छन् तर एउटा सम्प्रदायमा दीक्षित भएको व्यक्तिले अर्को सम्प्रदाय खडा गरेका अनेकौं उदाहरणहरू छन् । आचार्य रामानुजले आफ्ना अद्वैतवादी गुरू यादव प्रकाशसंग विद्रोह गरेर विशिष्ट-अद्वैत खडा गरेकै हुन् ।

यी दूवै गुरुहरुको जन्म अत्याचारी मुगल सम्राट औरंगजेवको वखतमा भएको थियो । एकातिर औरंगजेवले जवरजस्ती धर्म परिवर्तन गराएर सनातन धर्मको जरो काट्दै थियो भने अर्कातिर तेस समयका सनातन धर्मका विद्वानहरूका लागि सनातन धर्मलाई जीवित राख्न नै ठूलो चुनौती थियो ।

मुसलमानहरूको आँखामा धूलो हालेर सनातन धर्मको रक्षा गर्न देवचन्द्र र प्राणनाथले तेही गरे जुन तेस समयमा उचित थियो ।

सनातन धर्मको रक्षाका लागि प्राणनाथले राजा छत्रसालसंग सहकार्य गरे । प्रत्यक्षमूर्ति पूजाका ठाउँमा मुकुटआदि पूजा गर्ने प्रचलन बसाए । मुगलहरू धर्मस्थलहरू जोगाउन परासी शैलीमा मन्दिर निर्माण गरे । तारतमजस्ता विशालकाय उपदेश ग्रन्थ लेख्दा उर्दु, अरवीजस्ता विदेशी (यवनी भाषा) को पनि खुलेर प्रयोग गरे तर श्रीराधाकृष्णको उपासना तथा भक्ति भने कत्ति पनि छोडेनन् ।

नवतनपुरी, महामङ्गलपुरी र पद्मावतपुरी (पन्ना) यी तीनबटा ठाउँबाट प्रणामी धर्मको प्रचारप्रसार गरिएकोले प्रणामीहरूका लागि यी ठाउँहरू पवित्र तीर्थस्थल मानिन्छन् ।

देवचन्द्रजी प्रणामी सम्प्रदायका संस्थापक आचार्य भए पनि प्राणनाथले यो सम्प्रदायको प्रचारप्रसार र विस्तार गरेका हुन् । प्रणामीहरूले महामति प्राणनाथका रूपमा आदर गर्ने गुरूले १४ बटा खण्ड भएको विशाल कुलजम स्वरूप वाणी लेखेका छन् जुन् ग्रन्थमा गुजराती, सिन्धी, अरविक, हिन्दी, पारसी, उर्दू, ब्रजआदि विभिन्न भाषाहरू मिसाइएको छ ।

यसमा कुरान तथा तोरेटबाट पनि सन्दर्भ लिइएको छ । तर आधारभूत रूपमा वेद, उपनिषद् तथा पुराणहरूबाट कृष्ण भक्तिगाथा सङ्ग्रह गरिएको छ र राजजी अर्थात् ११ वर्ष ५२ दिनका राधाकृष्णको भक्तिमा समर्पित छ । यो ग्रन्थले प्राणनाथको अनेकौं भाषा सम्बन्धी ज्ञानलाई उजागर गर्छ ।

देवचन्द्रजी तथा प्राणनाथको समय र अहिलेको समय निकै फरक छ । विश्वका देशहरूले प्रजातान्त्रिक मान्यतामा आधारित राज्यप्रणाली अंगालेका छन् । खासगरी नेपाल र भारतमा धार्मिक स्वतन्त्रता प्राप्त छ । मान्छेहरू स्वेच्छाले धर्म मान्न र छोड्न पाउँछन् । तर देवचन्द्रको समय तेस्तो थिएन । औरंगजेवको डरले हिन्दूहरू धमाधम मुस्लिम वन्दै थिए ।

भनिन्छ, तेस वखत धेरै हिन्दूहरू आफ्नो धर्म, संस्कृति जोगाउन नेपाल छिरेका थिए । मलाई लाग्छ, यही मेलोमा प्रणामी सम्प्रदायका अनुयायी पनि नेपाल छिरेका हुन सक्छन् ।

नेपालमा प्रणामी सम्प्रदायको प्रवेश ठ्याक्कै कहिले र कसबाट भएको हो भन्ने भरपर्दो इतिहास त छैन तर पनि वि.स. १७३५ मा दैलेखका कृष्ण दास भण्डारी नामक एक जना ब्राह्मण हरिद्वारको कुम्भमा गएको बखत प्राणनाथजीसंग दीक्षा लिएर फर्केका थिए – भन्ने कुरा प्रणामी युवा परिषदका अध्यक्ष नमराज ढकाल र अभियन्ता रमेश बास्तोलाले बताएका छन् ।

यसरी नेपाली तीर्थयात्रीका माध्यमबाट प्रणामी सम्प्रदाय नेपाल भित्रिएको भन्ने बुझिन्छ । यसैगरी तेह्रथुमको आठराईमा रहेको इवाको सिम्लेमा कुनै मैनाली थरकी महिलाले प्रणामी सम्प्रदायको पहिलो मन्दिर निर्माण गरेर भन्ने पनि बुझिन आएको छ ।

मैले भनिसकें नेपाली समाजमा खुलेर नै जातीय छुवाछुत भेदभाव बिरुद्ध आफ्नै धर्म, संस्कृति तथा मूलमान्यताहरूकै छत्रछायालाई प्रयोग गरेर जनजागरण गर्नेहरूमा प्रणामीहरू नै पहिला हुन् भन्न मिल्छ । यहाँ एउटा कुरा ध्यान दिन योग्य छ – तेस वखतको नेपाललाई निकै जातीयतामा उल्झेको मानिन्छ तर जव कुनै गैरब्राहमणले भक्ति, ज्ञान तथा विवेकमा श्रेष्ठता प्राप्त गर्थ्यो, तेस वखत जातीयताको कुनै महत्व रहन्नथ्यो ।

प्राणनाथ जातिले ब्राह्मण थिएनन् तथापि ज्ञानी भएको नाताले नेपाली ब्राह्मणले गुरू थापेर फर्किए भने हरिद्वारको कुम्भमेलामा शास्त्रार्थमा बिजयी भएका प्राणनाथलाई तेही कुम्भमेलामा सन्तहरूले “निष्कलंक विजयानन्द बुद्ध अवतार” भन्ने उपाधिसम्म प्रदान गरेका थिए ।

आजको मितिमा प्रणामी सम्प्रदाय नेपालभरी छरिएको छ । अनुमानअनुसार नेपालमा करिव ६ लाख प्रणामीअनुयायीहरू छन् । खासगरी पूर्वी नेपालमा प्रणामी सम्प्रदायका थुप्रै मन्दिर, गुरुकुल तथा धर्मशालाहरू संचालनमा रहेको बुझिएको छ ।

काठमाडौँको गोठाटार, चावहिल, तीनकुने, इमाडोलआदि ठाउँमा मन्दिरहरू छन् भने अनुयायीहरू उपत्यकाभरि फैलिएका छन् । “सुन्दरसाथ”हरूले समयसमयमा समाज सेवामा पनि योगदान दिन्छन् र नेपालका सांस्कृतिक पर्वहरू जस्तै श्रीकृष्णअष्टमी, राम नवमीआदिमा पनि प्रत्यक्ष सहभागी हुन्छन् ।

तेस्तै, प्रणामी सम्प्रदायको आरम्भदेखि नै नेपालीहरूले प्रणामी सम्प्रदायको विस्तारमा निकै योगदान गरेका छन् । हाल भारतको गुजरात प्रान्तको जमसेद नगरमा रहेको प्रणामीहरूको सबैभन्दा प्रमुख पीठका आचार्य कृष्णमणिजी नेपाली मूलका हुन् भने अर्का भागवत वक्ता आचार्य टहलकिशोर पनि नेपाली नै हुन् ।

मेरा मित्रले जानकारी दिएअनुसार हाल प्रणामी सम्प्रदायका गुरुहरूमा सबैभन्दा बढी र प्रभावशाली नेपाली नै छन् र प्रचारकका रूपमा विश्वभरी फैलिएका छन् ।

अर्को एउटा रोचक प्रसंगको चर्चा गरौँ । सन् १९०९ ताका दार्जीलिङमा अंग्रेज (इसाई गुरू)लाई शास्त्रार्थमा पराजित गरेर नेपाली मूलकै प्रणामी सम्प्रदायका गुरू मङ्गल दासले अंग्रेजहरूबाट भूमि प्राप्त गरेर मन्दिर वनाएका थिए । उनले पहिलोपटक शाश्त्रार्थमा पराजित भएका फादरको हातबाट बाइबल लिएर शर्तअनुसार डढाएको भन्ने प्रसंग निकै रोचक छ ।

नेपाल तथा भारतमा मौलिक रूपमा (शास्त्रार्थ गरेर) इसाईको विस्तार विरुद्ध सङ्घर्ष गर्ने मंगलदास सम्भवत: पहिलो नेपाली थिए । सम्भवत: यिनै मङ्गल दासका शिष्यहरूका माध्यमबाट प्रणामी सम्प्रदाय नेपाल प्रवेश गरेको अनुमान गर्न सकिन्छ । छुवाछुत जस्ता जातीय विभाजनलाई पूर्णतया अस्वीकार गर्ने तर सनातन धर्ममा अगाध आस्था राख्ने भएकोले होला नेपाली समाजमा यो निकै लोकप्रिय छ ।

प्रणामी सम्प्रदायमा दीक्षित भएका मान्छेहरू पूर्णतया शाकाहारी हुन्छन् । सनातन धर्मका विनम्र अनुयायी हुन् तर यो निराकार श्रीकृष्णमा विश्वास गर्छन् । यो धर्ममा समावेशीपन छ र सरलता, कोमलता, दया, क्षमा, सनातन धर्मप्रति अतिआस्था यो सम्प्रदायका विशेषता हुन् ।

अर्कोतिर यो सम्प्रदायले छुवाछुत मान्दैनन् र राजश्यामाजीको उपासना गरेर अक्षरातीत गोलोकधाम प्राप्त गर्ने लक्ष राख्छन् । उनीको मूलमन्त्र हो – एकोपि कृष्णस्य कृतः प्रणामो दशाश्वमेधावभृथेन तुल्यः। दशाश्वमेधी पुनरेति जन्म कृष्णप्रणामी न पुनर्भवाय ।” अर्थात् कृष्णप्रणामी भए पछि पुनर्जन्म हुँदैन – भन्ने ब्रह्मवैवर्त पुराणले प्रदान गरेको आधिकारिकता बोकेर प्रणामी सम्प्रदाय विश्वव्यापी बन्दैछ ।

अन्त्यमा, नेपालको हिन्दू समाज विभाजित छ । स्वधर्म, संस्कार तथा संस्कृतिको सुरक्षाको सवालमा कमजोर हुँदैछ । जसको फाइदा पराईले (इसाई, मुस्लिम) उठाइरहेका छन् । प्राणनाथले आफ्ना ग्रन्थहरूमा बाइबल र कुरानको सनातन धर्मपरक ब्याख्या गरेर यी पराई धर्मका अनुयायीहरूलाई सनातन धर्म स्वीकार गर्न अभिप्रेरित गरेका छन् – छोटा र वडा कयामत नामा पढ्दा यो तत्थ्य वुझ्न सकिन्छ ।

सनातन धर्ममा रहेको विविधता नै एसको सुन्दरता हो, तेसैले प्रणामीसहित नेपालका अन्य धार्मिक-समुहहरूले नेपालको रैथाने धर्म-संस्कृतिको जगेर्ना गर्न सहकार्य गर्नुपर्छ र छुवाछुतजस्ता कू-प्रथाहरू विरुद्ध मिलेर काम गर्नुपर्छ ।