‘गोल्ड मेडलिस्ट’ उपसचिव काण्डले सिंहदरबारभित्र सन्नाटा - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

‘गोल्ड मेडलिस्ट’ उपसचिव काण्डले सिंहदरबारभित्र सन्नाटा



काठमाडौं- गोल्ड मेडल पाएका नेपाल सरकारका एक जना उपसचिव ठूलो घुस रकमसहित पक्राउ परे । पर्यटन व्यवसायीसँग घुस मागेको सूचनाका आधारमा उपसचिव प्रमोद नेपाल पक्राउ पर्दा सिंहदरबारभित्र सन्नाटा नै छाएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ‘गोल्ड मेडलिस्ट’ उपसचिव नेपाल साढे २२ लाख घुस रकम सहित मंगलबार पक्राउ परे। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा नेपालले स्वर्णपदक पाएका थिए। त्यसपछि उनले बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसरसमेत पाएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गुप्तचरी टोलीले मंगलबार बिहानैदेखि नेपालमाथि निगरानी राखेको थियो। सोही क्रममा नेपालले नागपोखरीस्थित होटल अरण्यमा घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो।

उनले प्याराग्लाइडिङको उडान अनुमति दिनका लागि घुस मागेको पाइएको अख्तियारले जनाएको छ।

पर्यटकीय स्थलमा प्याराग्लाइडिङको अनुमति नेपाल नागरिक उड्डयन प्राधिकरणले दिने भए पनि त्यसका लागि मन्त्रालयको सैद्धान्तिक सहमति चाहिन्छ।

सचिव नेपालको साथबाट साढे २२ लाख रुपैंया बरामद भए पनि अख्तियारले बुधबार विशेष अदालतमा पेश गरेर पक्राउको म्याद थप गर्ने र थप अनुन्धान थाल्ने जनाएको छ।