श्रीमान-श्रीमतीका म्यासेज हेर्ने यो कस्तो सरकार ? - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

श्रीमान-श्रीमतीका म्यासेज हेर्ने यो कस्तो सरकार ?



काठमाडौं- राष्ट्रिय सभाका एकजना सांसद प्रकाश पन्तले सरकारले ल्याएको नेपाल विशेष सेवा विधेयकका दफामाथि गम्भीर प्रश्न उठाएका छन्।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि विरोधको सूचना दर्ता गराउँदै सांसद पन्तले सरकारले नागरिक स्वतन्त्रता र मौलिक हक खोसन खोजेको आरोप लगाएका छन्।

‘यो विधेयकले नागरिकको स्वतन्त्रता र मौलिक हक खोस्दैछ। अब नागरिकका गोप्य भन्दा गोप्य कुरामा पनि सरकारको पहुँच हुनेछ’, उनले भने, ‘यो विधेयकका केही दफा एकदमै खतरनाक छन्।

विधेयक पास भएमा नागरिकलाई ठाउँको ठाउँ थुन्न सक्ने अवस्था आउँदैछ।’ सांसद पन्तल यो विधेयक पारित भएमा पत्रकारहरुले पनि म्यासेज लेख्दा वा समाचार बनाउँदा पनि होस पुर्‍याउने दिन आउनेतर्फ सचेत गराए।

‘पत्रकारहरुले पनि अब ख्याल गरे हुन्छ। सम्पादकलाई लेखेका म्यासेज अब सरकारले पहिले हेर्नेछ। अब तपाईंहरुले म्यासेज लेख्दा पनि होस् गर्ने बेला आएको छ’, उनले भने, ‘यो विधेयक आएपछि अप्रत्यक्षरुपमा अघोषित सेन्सरिसप लाग्नेछ।’

सांसद पन्तले जो सुकैलाई ठाउँको ठाउँ सक्ने अवस्था आउने भएकाले नेपाल विशेष सेवा विधेयक नेपालको संविधानको नागरिक स्वतन्त्रता र मौलिक हकविरुद्ध रहेको जिकिर गरे। ‘सरकारले नागरिकको गुप्तचरी गर्न पाउँदैन।

ज्यानमारा खालका विधेयक फिर्ता लिन सरकालाई आग्रह गर्छौँ’, उनले भने, ‘कसैले पनि नागरिकको स्वतन्त्रता खोस्न पाउँदैन। कम्युनिष्ट सरकारले अधिनायकवादको यात्रा तय गरेको यसले प्रष्ट देखाउँछ।’

सांसद पन्तले विरोधको सूचना दर्ता गराएपछि जवाफ फर्काउँदै अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयकको विरोधको कुनै अर्थ नरहेको जिकिर गरे। ‘नेपालमा बसेर जासुसी गर्न सक्ने र देशबीचको सम्बन्ध बिगार्नेरिुद्ध प्रतिजासुसी पनि त गर्नुपर्ला नि’, उनले भने, ‘त्यसैले यो कानुन जरुरी छ।’

अर्थमन्त्रीले जवाफ दिएपछि सांसद पन्तले पेश गरेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको छ। सरकारले पेश गरेको विधेयकमाथि सोमबारदेखि नै राष्ट्रिय सभामा छलफल सुरु भएको छ।’