प्रकाश कटुवालमाथि ६ अभियोग - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

प्रकाश कटुवालमाथि ६ अभियोग



प्रस्तुति : – समीर प्रकाश पाण्डे
मिलन पलपलको, बिहे गर्देउ बाउ, यो रक्सीको गन्ध, सङ्गिनीको माँझमा, चोर बिरालो पल्को, ढाडे बिरालो, मोही खाउँला बोट्कामा, पहेँलो बेसार, सुन्दर रामेछाप, छेकेन जामाले, घ्यूयै लाएन, जारको पानी,फूल फुल्यो केसरी, टोलै रमाइलो जस्ता थुप्रै गीतहरू पस्केर नेपाली लोकसङ्गीतको क्षेत्रमा आम दर्शक श्रोताहरूमाझ आफ्नो लोकप्रियता कमाउन गायक हुन् प्रकाश कटुवाल ।

रामेछाप जिल्लामा जन्मिएका गायक “प्रकाश कटुवाल” ले २०५९ सालमा तेरेली सङ्गीतबाट पहिलो गीति एल्बम “मिलन पलपलको” भन्ने गीतबाट आफ्नो साङ्गितिक यात्रा सुरु गरेका हुन् जुन गीतमा आफैँले शब्द सङ्गीत गरेका छन् । त्यसपछि भने उनको स्वरमा धेरै गीतहरू बजारमा आउन थाले र दर्शक-श्रोताको साथ त पाए तर पनि बेलाबेला उनी विवादमा परिरहन्छन् ।

प्रस्तुत छ, उनै गायक कटुवाललाई सोही विषयमा हिमालपोस्टले लगाएको ६ अभियोग ।

१) दुईअर्थी गीत, भल्गर भिडियोलाई बढी प्राथमिकता दिन्छ प्रकाश कटुवाल भन्छन् नि?
प्रकाश कटुवालले भल्गर भिडियोलाई प्राथमिकता दियो भन्नुभन्दा पनि दर्शकको माग दिएको जस्तो लाग्छ मलाई किन भने हाम्रो बजार नै समय अनुसार चलेको छ त्यसैले मैले पनि समय अनुसारको बजारलाई पछ्याइरहेको छु ।

२) केही समय अगाडि लोक दोहोरी प्रतिष्ठानको अध्यक्ष जस्तो पदमा रहेको मान्छेलाई त्यसरी स्टाटसबाट नामर्द शब्द लेख्न मिल्छ तपाईँले ?
पहिलो कुरा त अध्यक्ष भैसकेपछि सबैको भावना बुझ्ने हुनुपर्छ प्रतिष्ठानको अध्यक्षज्यूले कुनै त्यस्तो गीत-सङ्गीत बजारमा राम्रो काम गर्नु भयो जस्तो लाग्दैन मलाई। आफूलाई मन पर्ने अनि पार्टीमा जोडिएका कलाकारलाई मात्र माया गरेको पाइन्छ उहाँले। कलाकारलाई भेदभाव गरेको राम्रै पाउन सकिन्छ। उहाँकै कारणले संस्था पनि नराम्ररी बदनाम भएको छ। कैले तास कान्ड त कहिले पार्टीको गीत गाएर। त्यसैले उहाँ मर्द जस्तो लागेन अनि नामर्द भनेँ कि जस्तो लाग्छ।

३) हिन्दुहरूको महान पर्व हरितालिका तीज नजिकिँदै छ तीजमा संस्कृति जोगाउने भन्दा पनि विकृति फैलाउने खालका गीत आउँछन् तपाईंका भन्ने आर‍ोप छ नि?
तीज भन्ने बित्तिकै दिदीबहिनीहरूले दुःख बिसाउने पर्व हो। तर यहाँ त तीज गीतमै रत्यौली गाउने चलन बढ्दै गएको छ त्यसको मुख्य कारण भनेको हाम्रा अग्रजको कमजोरी हो, किनकि उहाँहरूले नै हामीलाई सिकाउनु भएको छ, हामीले पनि त्यही बाटो खोज्न बाध्य भएका छौ । तीज गीतमा विकृति आउन नदिने हो भने नेपाल सरकारले सेन्सर बोर्ड गठन गराउन जरुरी छ। म एउटाले विकृति ल्याउँदैमा यो समुद्रभन्दा ठूलो दुनियाँ कैले धमिलिन्छ भन्ने मलाई लाग्दैन। यो पनि दर्शक को माग हो।

४) आफ्नो काम भए पछि आफैँसँग सहकार्य गरेको कलाकारलाई पनि वास्तै गर्नु हुन्न रे के यो सत्य हो?
पहिलो कुरा त प्रकाश कटुवाललाई नजिकबाट राम्रोसँग चिन्न जरुरी छ। मलाई लाग्छ म एउटा कलाकार मात्र होला यो दुनियामा सबैलाई माया गर्ने। मसँग सहकार्य गर्ने सबैलाई सपोर्ट गर्ने गर्छु र नगर्नेलाई पनि म त्यतिकै माया गर्छु। बाहिरबाहिर कुरा काट्दै हिँड्नेको पछि लाग्ने हो भने हाम्रो कला समाप्त हुन्छ। त्यसैले कसले के भन्यो भन्नु भन्दा पनि मैले के गर्दै छु भन्ने सोच राख्नु पर्छ ।

५) राजधानी दोहोरी साँझ नाममात्र तपाईंको, लगानी अर्कै को त हैन ?
कोही कसैले बिनालगानी दोहोरीको सञ्चालक बनाउँछ भने त्यो पनि मेरो प्रगति नै हो। त्यस्मा मेरो कुनै गुनासो छैन र अर्को कुरा, फिरिमा पाइँदो रहेछ भनेर अलकत्रा नै खाने बानी छैन मेरो। पहिला पनि राजधानी मेरै लगानीमा थियो र अहिले पनि मेरै लगानीमा टप राजधानी दोहोरी खुलेको आज बल्ल 3/4 दिनमात्र भएको छ ।

६) तपाईँको बिहे भएको छ ? कलाकारहरूको घरमा एउटी बाहिर एउटी हुन्छन् भन्छन् नि ?
माया प्रेम आफैँमा मीठो फल हो। त्यो मीठो फललाई काटेर खाने या चिथरेर खाने भन्ने कुरामा फरक पर्छ त्यसैले सबैसँग हाँस्नु, बोल्नु, माया लाउनु नराम्रो हो जस्तो लाग्दैन। पहिलो कुरा त बिहे नहुँदा र भैसकेपछिको जीवन अलिक फरक पर्छ। म विवाहित हुँ । सबै कलाकार त्यस्ता हुन्छन् जस्तो लाग्देन कोहीकोही होलान्, तर म मा त्यो छैन ।

अन्त्यमा,
हिमाल पोस्टलाई धेरै धेरै धन्यवाद ।