अस्थायी प्रहरी पोस्ट स्थापना - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

अस्थायी प्रहरी पोस्ट स्थापना



विशाल पाण्डेय / कैलाली – शान्ति सुरक्षा कायम गर्दै जनतालाई सुरक्षाको अनुभूति दिलाउने उद्देश्यले कैलालीको घोडाघोडी नगरपालिका- ७ हरिनगरमा अस्थायी प्रहरी पोस्टको स्थापना गरिएको छ । बिहिवार एक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेशका पुर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारीले उद्घाटन गरेका हुन् ।

पोस्टको उद्घाटन गर्दै पुर्वमन्त्री सोडारीले प्रहरी पोस्ट स्थापनाले नागरिकमा सहज रुपमा सुरक्षाको अनुभुती दिलाउने बताए । प्रहरी एक्लैले मात्र अपराध न्युनिकरण गर्न नसक्ने हुदा जनताको साथ आवश्यक रहेको पुर्व मन्त्री सोडारीले बताए । उनले बढि जनघनत्वको आधारमा प्रहरीले शान्ती सुरक्षा प्रदान गर्न प्रहरी पोस्टहरुको क्षमता बढाउनु पर्ने बताए ।

सुदुरपश्चिम प्रदेशका प्रदेश सांसद अमर बहादुर साउँदले प्रहरी पोष्टको स्थापनाले अपराधिक क्रियाकलप न्युनिकरण हुनेमा बिश्वास ब्यक्त गरेका छन् । सांसद साउदले शान्ति सुरक्षालाई थप मजबुत बनाउन नगरपालिकाका अन्य वडामा समेत पोस्टहरु स्थापना गर्नुपर्ने सुझाव दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शम्शेर जवराले प्रहरी र स्थानीयबासीको सम्बन्ध नङ र मासु जस्तो हुन आवश्यक रहेको बताए । समाजमा हुने बिभिन्न गलत क्रियाकलाप नियन्त्रण गर्न प्रहरी पोष्टले ठुलो भुमिका खेल्ने भएकाले स्थानीयहरुलाई आवश्यक सुचनाहरु दिएर समन्वय गर्न आग्रह समेत गरेका छन् ।

घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीले
शान्ति सुरक्षालाई थप मजबुत बनाउन चौकी स्थापना गरिएको बताए । उनले वडा नं ७ बाट विभिन्न खालको तस्करी हुने भन्ने सुचना पाएकोले चौकीको स्थापनासंगै तस्करी ,चोरी ,डकैती लगायतका विभिन्न घटनाहरु न्युनिकरण हुने बताए । नगरको वडा नं १२, ६ र ४ मा पनि प्रहरी पोष्टको आवश्यकता रहेकाले पोस्ट स्थापनाको लागि आफुहरु लागिरहेको नगर प्रमुख चौधरीले बताए ।

सुरक्षाका लागि अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायक निरिक्षकको नेतृत्वमा ७ जना प्रहरी परिचालन गरिएको छ । वडा नं ७ मा अस्थायी प्रहरी चौकी स्थापना भएसंगै वडा भित्र हुने अपराधिक क्रियाकलाप न्युनिकरण हुने भन्दै स्थानीयहरुले खुशी व्यक्त गरेका छन् ।