चलचित्र संघको अध्यक्षबाट प्रदिप उदयले दिए एकाएक राजिनामा - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

चलचित्र संघको अध्यक्षबाट प्रदिप उदयले दिए एकाएक राजिनामा



काठमाडौं । चलचित्र प्रदर्शक र वितरकको छाता संस्था नेपाल चलचित्र संघको कार्यसमिति निष्क्रिय हुँदै गएपछि चलचित्र प्रदर्शन र वितरणमा समस्या आएको छ । यसैबीच संघका अध्यक्ष प्रदीपकुमार उदय आगामी ६ जेठबाट लागू हुने गरी चार दिनअघि मोफसलबाटै अध्यक्ष पदको राजीनामा पठाएका छन् । उनी विगत दुई महिनादेखि बिदामा थिए ।

उदयले अध्यक्षबाट राजीनामा दिनुको कारणबारे राजधानीसँग भने, ‘मैले आफ्नो कार्य व्यस्तताका कारण संघलाई समय दिन नसक्दा संघको काममा प्रभाव परेको पाएँ । सोही कारण अध्यक्ष पदबाट मैले अर्को महिनाबाट लागू हुने गरी राजीनामा दिएको हुँ ।’

उदयको कार्यकाल अझै एक वर्ष बाँकी थियो । दुई वर्षअघि हेटौंडामा भएको अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका थिए । बुटबलमा ६ महिनाअघि आफैंले द्वारिकाज सिनेमा खोलेपछि उदय बुटबलतिरै व्यस्त छन् । कार्य व्यस्तताका कारण काठमाडौंमा बस्न नभ्याएको प्रस्ट पार्दै भने, ‘मैले केही साथीलाई राजीनामा पठाएको छु । चाँडै बैठक बसेर मेरो राजीनामा पारित गर्ने विश्वास पनि लिएको छु ।’

केही महिनाअघि मात्र प्रदीपकुमार उदय राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश ५ को अध्यक्ष भएका थिए । त्यसपछि प्रदेशमा त्यत्तिकै समय दिनुपरेको पनि उनले बताए ।

सोही कारण पनि काठमाडौंभन्दा बढी बुटबलमा बस्नुपर्ने भएकाले उनले पठाएको राजीनामामा समेत उनले खुलाएका छन् । आफू अध्यक्ष पदमा नरहे पनि संघका महŒवपूर्ण कार्यमा सहभागी हुने पनि उनले बताए ।

यता, संघको अध्यक्ष पदबाट उदयले राजीनामा दिएकै बेला विभिन्न पदाधिकारी विदेश भ्रमण र मोफसलमा छन् । जसका कारण पछिल्लो समय स्वदेशी तथा विदेशी फिल्मको वितरणमा बेथिति देखिएको छ । विशेष गरेर बलिउड र हलिउडका फिल्म ल्याउने होड केही वितरकबीच चलेका कारण केही महिनाअघिबाटै नेपाली चलचित्रलाई प्रत्यक्ष असर परेको छ ।

यो साता नेपालमा नयाँ नेपाली चलचित्र रिलिज हुन सकेन । अघिल्लै साताका दुईवटा नेपाली फिल्म प्रदर्शन भइरहेका छन् । त्यस्तै हलिउड र बलिउडका ५ वटा फिल्म प्रदर्शन भइरहेका छन् ।नेपाल चलचित्र संघका कोषाध्यक्ष गोपालकाजी कायस्थले राजधानीसँग भने,

‘फिल्म वितरण गर्न पाउनु वितरकको अधिकार भए पनि नेपाली बजारको अवस्था हेरेर विदेशी सिनेमा ल्याउनु राम्रो हो । नेपाली बजारले एक÷दुई वटा नेपाली र एउटा हलिउड तथा एउटा बलिउड गरेर दुई विदेशीसहित चार वटासम्म फिल्म प्रति हप्ता जेनतेन धान्न सक्छ ।’ तर यहाँ त जस्ता पनि विदेशी फिल्म ल्याउने होडमा प्रतिहप्ता चारदेखि पाँच वटासम्म विदेशी फिल्म ल्याएर प्रदर्शन गर्न थालिएकोउनले प्रस्ट्याए ।

नेपाली फिल्मको वितरण जिम्मा लिएकाले नै विदेशी फिल्म ल्याएर प्रदर्शन गरेकाले नेपाली चलचित्रको व्यापार नै सखाप पार्ने गरेको पनि कोषाध्यक्ष कायस्थले बताए ।

‘हामीले विदेशी फिल्म नल्याउनु भनेको होइन । तर, नेपाली फिल्मको वितरण जिम्मा लिएका साथीले स्वदेशी सिनेमालाई धेरै भन्दा धेरै हल दिएर निर्माताको लागानी उठाइदिनु प्रमुख दायित्व हो ।’

नेपाली फिल्मको वितरण जिम्मा लिएका वितरकले नै विदेशी फिल्म ल्याएर जुधाउँदै आफूले वितरण जिम्मा लिएको नेपाली फिल्म डुबाउन थालेपछि निर्माताहरूको विश्वास वितरकसँग गुम्दै गएको छ । यो समस्याप्रति आफूहरू पनि गम्भीर भएको संघका कोषाध्यक्ष कायस्थले बताए । पछिल्लो समय नेपाल चलचित्र संघ केही सुस्त भएका कारण पनि चलचित्र वितरणमा बेथिति बढेको हो ।

संघका महासचिव अर्जुन श्रेष्ठ विदेशमा छन् । संघको कार्यवाहक अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठलाई दिइएकामा उनी पनि काठमाडौं भन्दा चितवनमै बढी बस्ने गरेका छन् ।

संघका अर्का उपाध्यक्ष नरेन्द्र महर्जन चलचित्र विकास बोर्ड सदस्यको कार्यभारसँगै हेटौंडामा आफ्नो सिनेमा हल ओम्याक्स निर्माणमा व्यस्त भएका कारण संघमा समय दिन नसकेको सदस्यहरूको गुनासो छ । जसका कारण प्रदर्शन र वितरणको व्यवस्थापन राम्ररी हुन नसेकेको नेपाली चलचित्र निर्माताको भनाइ छ ।