प्रदीप गिरीले भने : सरकार ओभरलोड गाडीजस्तो भयो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रदीप गिरीले भने : सरकार ओभरलोड गाडीजस्तो भयो



जनकपुरधाम । नेपाली कांग्रेसका प्रखर नेता प्रदीप गिरीले संघीय सरकारले अधिकारजति आफैंमा केन्द्रित गरेर ओभरलोड बोकेको गदिजस्तो भएको बताएका छन् ।

उनले मुलुक संघीयतामा गइसकेपछि सम्पूर्ण अधिकार आफैं राख्ने पुरानो परम्परालाई त्याग्नुभन्दा यो सरकार अझै अधिकार आफ्नो नियन्त्रणमा लिएको बताए । ‘यो राम्रो होइन, यसले सरकारलाई नै पछाडि धकेल्छ’ उनले भने ।

नेता गिरीले संघीय सरकारले सिंहदरबारमा अधिकार कैद गर्नुभन्दा संविधानअनुसार अधिकार प्रत्यायोजन गर्नुपर्ने बताए । ‘संघले जति अधिकार प्रदेश, स्थानीय तहलाई दिन्छ, यो सरकार त्यति नै मजबुत हुँदै जान्छ’ गिरीले भने ।

‘कुनै जहाजमा क्षमताभन्दा बढी यात्रु र सामान राखेमा त्यो जहाज उड्न सक्दैन’ गिरीले भने, ‘यो सरकार पनि अधिकारको सवालमा अत्यधिक लोड बोकेका कारण अब अगाडि बढ्न समस्या छ ।’

भएभरको सम्पूर्ण अधिकार आफैंले राखेर यो सरकार आफैंले भारी बोकेको उनको भनाइ छ । ‘यो अधिकाररुपी भारीलाई अनलोड गर्नु आवश्यक छ’ उनले भने, ‘अन्यथा उड्ने छाँटकाँट छैन ।’

सरकारले ठूला-ठूला मेगासिटी बनाउने जुन कुराहरु गरिरहेको छ त्यो नेपालले धान्न नसक्ने बताउँदै उनले गाउँहरुलाई नै विकसित गरे मुलुकको कल्याण हुने बताए ।