प्रधानमन्त्रीले भने, ‘संसारबाट डाइनोसर त लोप भए, तर नेपालमा एक सिङ्गे गैँडा हेर्न पाइन्छ ।’ - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

प्रधानमन्त्रीले भने, ‘संसारबाट डाइनोसर त लोप भए, तर नेपालमा एक सिङ्गे गैँडा हेर्न पाइन्छ ।’



काठमाडौं (रासस) । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा भएको एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन आएका पाहुना तथा अतिथिलाई नेपालको हिमाल तथा चितवनमा गएर ‘एक सिङ्गे गैंडा’ हेर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले भने, “संसारबाट डाइनोसर त लोप भयो, तर नेपालमा एक सिङ्गे गैँडा हेर्न पाइन्छ ।”

यस्तै, उनले सुशासन तथा पारदर्शिताविना आर्थिक विकास र समृद्धिको मार्ग अगाडि बढ्न नसक्ने बताए । प्रधानमन्त्री ओलीले सरकार, विधिको शासन, कानूनी राज्य र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी तवरले लागिपरेको बताए ।

सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणका लागि सबैको साथ र सहयोग जरुरी रहेको र त्यसमा जागरुप नागरिक समाज र सरोकार भएका सबैले सक्रियतापूर्वक सहभागी हुनु जरुरी रहेको प्रधानमन्त्रीको भनाई थियो ।

उनले सुशासनबाट मात्रै समृद्धि सम्भव रहेकाले सरकार स्थापित आधारभूत मूल्य र मान्यताका आधारमा नागरिकलाई बढीभन्दा बढी सुशासनको अनुभूती दिलाउन प्रयत्नशील रहेको बताए ।

प्रधानमन्त्री ओलीले सुशासनविना विकास सम्भव हुन नसक्ने भएकाले अनावश्यक प्रभाव र दबाबलाई मुक्त राख्दै नागरिकमात्रको सेवामा सरकारले आफ्ना गतिविधि अगाडि बढाइरहेको उल्लेख गरे ।

उनले विश्वव्यापी लोकतन्त्रका आधारभूत मूल्यमान्यता आवधिक निर्वाचन, विधिको शासन, कानूनी राज्यलाई सरकारले पूर्णरुपमा अवलम्बन गरेको र जनतामा नीहित सार्वभौमसत्ताको प्रयोग गरेकोसमेत स्पष्ट पारे ।

प्रधानमन्त्रीले भ्रष्टाचार पैसामा मात्र नभई नीति, विधि र शक्तिको दुरुपयोगलगायतका विषयमा पनि हुनसक्ने बताए । “सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गरेकाले कुनै पनि प्रकारका भ्रष्टाचारमा सरकारले कारवाही गर्छ । कोही कसैलाई छुट दिँदैन”, उनले भने ।

प्रधानमन्त्री ओलीले जनप्रतिनिधिलाई उत्तरदायी र पारदर्शी हुन अपिल गरे । “जनप्रतिनिधिले आफूलाई धब्बा लाग्ने काम गर्नु हुँदैन । जनप्रतिनिधिको विगत, वर्तमान र भविष्य तीनवटै उज्यालो हुनुपर्छ”, प्रधानमन्त्रीले भने, “लोकतान्त्रिक प्रणालीलाई सफल बनाउन जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुन्छ ।”

लोकतन्त्र नै राम्रो व्यवस्था भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि सरकारमा नीतिगत स्पष्टता रहेको स्पष्ट गरे । उनले विश्व शान्तिका लागि आयोजना गरिएको यस सम्मेलन भव्यरुपमा सफल भएको आफूले ठानेको बताए । प्रधानमन्त्रीले ओलीले भने, “आधारहित टिप्पणी गर्नेलाई मेरो भन्नु केही छैन । विश्वभर शान्ति छाउनुपर्छ भन्ने विषय नै महत्वपूर्ण रहेको छ ।”