प्रदेश पाँचमा १५ दमकल ! दमकल नआउँदै सकिन्छ जायजेथा - Himal Post Himal Post
  • १२ फाल्गुन २०८१, सोमबार
  •      Mon Feb 24 2025
Logo

प्रदेश पाँचमा १५ दमकल ! दमकल नआउँदै सकिन्छ जायजेथा



आचार्य प्रदीप/बुटवल । फागुनमा बुटवल आसपासको क्षेत्रमा १६ वटा आगलागी भए । जसमा कुनै मानवीय क्षति नभए पनि आगलागीबाट २ करोड ३२ लाखभन्दा बढीको क्षति भयो ।

बुटवल उपमहानगरपालिका २ मैनाबेगरमा रहेको विहार च्याम्पियन टायरमा गत माघ ४ गते राती साढे नौ बजेको समयमा आगलागी भएको थियो । आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाको एउटा दमकलले काम गरेन । सिद्धार्थनगर नगरपालिका भैरहवाबाट दमकल बोलाइयो ।

भैरहवाबाट दमकल आउँदासम्म विहार च्याम्पियन टायर भएको भवन पूर्ण रूपमा नष्ट भइसकेको थियो भने नजिकै रहेको चम्मन टायरमा समेत आगलागी भयो । विहार टायरका सञ्चालक महम्मद आरिफ भन्छन्–‘बुटवलमा एउटा अझै दमकल भएको भए मेरो पसलमा त्यति धेरै क्षति हुने थिएन । ’

फागुन महिनाको सुरुवातमै बिहान ३ बजे बुटवलको संगमपथमा रहेको युनाइटेड प्लास्टिकमा भएको आगलागीका कारण २ करोड बराबरको क्षति भएको थियो । आगलागी नियन्त्रण गर्नको लागि रूपन्देहीमा रहेका ३ वटा दमकल तथा कपिलवस्तु र नवलपरासीबाट दमकल ल्याएर आगो नियन्त्रणमा ल्याउँदासम्म घर पूर्ण रूपमा जली सकेको थियो ।

रूपन्देहीमा पर्याप्त दमकल नहुँदा आगलागीबाट ठुलो क्षति हुने गरेको छ । यी त रूपन्देहीका मात्रै उदाहरण हुन् । १ सय १२ स्थानीय तह रहेको प्रदेश नम्बर ५ मा जम्मा १८ वटा दमकल रहेका छन् । जसमा १५ वटा दमकल मात्र सञ्चालनमा छन् । प्रदेशभर ४ उपमहानगरपालिका, २९ नगरपालिका र ७९ गाउँपालिका रहेका छन् ।

दाङ जिल्लामा दमकल भए पनि निकै नै पुरानो रहेको हुँदा त्यहाँ दमकलको प्रयोग भएको छैन भने प्रदेश नम्बर ५ को अर्को सबै गाउँपालिका रहेको जिल्ला रुकुम पूर्वमा एउटा पनि दमकल छैन ।
रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका उत्कृष्ट नगरपालिकाको रूपमा पटक–पटक सम्मानित भए पनि आगलागी नियन्त्रणको लागि वारुण यन्त्र दमकल एउटा मात्र रहेको छ भने एउटा पुरानो भएर थन्किएको अवस्थामा रहेको छ । एउटा दमकल २ वर्ष अगाडि कवाडमा बेचेको थियो ।

१६ वटा स्थानीय तह रहेको जिल्लाको बुटवल उपमहानगरपालिकामा १ वटा प्रयोगमा रहेको छ । यस्तै सिद्धार्थ नगरपालिकामा रहेको एउटा मात्र दमकल २० वर्ष नाघेको छ भने अर्को दमकल बिग्रिएको अवस्थामा रहेको छ । नगरपालिकामा भएको दमकल ४ हजार लिटर क्षमताको रहेको नगरपालिकाका सूचना अधिकारी देव ज्ञवालीले जानकारी दिए । लुम्बिनी सांस्कृतिक नगरपालिकामा एउटा मात्र दमकल छ तर त्यो दमकल पनि पुरानो भएको कारण सञ्चालनमा भने छैन ।

यो सँगै १६ स्थानीय तह रहेको रूपन्देहीमा ३ वटा तहमा मात्रै दमकल रहे पनि २ वटा तहको दमकल मात्र प्रयोगमा छन् भने बाँकी रहेका १३ वटा स्थानीय तहमा एउटा पनि दमकल छैन । नगरपालिका तथा स्थानीय तहमा दमकल किन्नसक्ने अवस्था छैन भने केही स्थानीय तहहरू मिलेर दमकल सञ्चालन गर्ने योजना रहेको बताउँछन् ।

रूपन्देहीमा रहेका स्थानीय तहलाई दमकल निर्यातको लागि समय–समयमा भन्ने गरेको भए पनि स्थानीय तहसँग आर्थिक अवस्था कमजोर रहेको बताउँदै यो कुरालाई टार्ने गरेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए । उनले अब स्थानीय तहहरूले दमकलजस्तो अत्यावश्यक कुरालाई प्राथमिकतामा राखेर कार्य गर्न आह्वानसमेत गरे । उनले समय समयमा हुने आगलागीका घटनाबाट भन्दा पनि आगो नियन्त्रणमा ल्याउन बारुणयन्त्र नभएको हुँदा घटनाले ठुलो रूप लिने गरेको बताए ।

यता बुटवल उपमहानगरपालिकाका हालै सरुवा भएका कार्यकारी अधिकृत भरतमणि पाण्डे भने ५४ सय लिटर क्षमताको बरुण यन्त्र रहेको बताउँछन् । ३ वर्ष अगाडि नगरपालिकाको जगेडा कोषबाट ६४ लाख रुपैयाँमा दमकल किनेको उनको भनाइ छ । बुटवलमा चीन सरकारले दिएको नयाँ दमकल आएपछि पुनःस्थापना गरेको उनी बताउँछन् । बुउनपामा दमकल नभएकोले क्षति बढी हुने गरेको कुरा स्वीकार्दै छिट्टै यो समस्या समाधान हुने उनले बताए ।

बुटवल उपमहानगरपालिकाको दमकल रूपन्देही तथा पूर्व–पश्चिममा समेत अग्नि नियन्त्रणको लागि जाने गरेको भए पनि २०७१ सालमा ५६ वटा आगलागीका घटनाहरू घटेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस्तै २०७२ सालमा आगलागीका घटना १ सय १७ वटा घटेका थिए । यस्तै २०७३ सालमा १ सय ६ वटा आगलागीका घटनाहरू भएका छन् । जसका कारण करोडौंको क्षति भएको हो । यस्तै २०७४ साल फागुन २६ गतेसम्म ८५ वटा आगलागीका घटना भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

६ महानगरपालिका, ११ उपमहानगरपालिका, दुई सय ७६ नगरपालिका, चार सय ६० गाउँपालिका गरी ७ सय ५३ स्थानीय तह मिलेर बनेको सङ्घीय नेपालको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको विपत् तथा अग्नि नियन्त्रण शाखाको तथ्याङ्कअनुसार दमकल भएका नगरपालिकाको सङ्ख्या मात्र ७१ छ । त्यसमा पनि पुराना ५८ मध्ये ४९ वटामा र नयाँ थपिएका दुई सय २१ मध्ये मात्र २२ नगरपालिकामा मात्रै दमकल छन् । यस्तै पहाडी जिल्लाहरूमा भएका दमकल खेल मैदानमा धुलो मार्नको लागि मात्रै प्रयोगमा रहेका छन् ।
यस्तै प्रदेश नम्बर ५ मा रहेको नवलपरासी जिल्लामा ७ वटा स्थानीय तह रहेका छन् । जसमा रामग्राम नगरपालिकामा मात्रै एउटै दमकल रहेको छ । ३ नगरपालिका र ४ गाउँपालिका रहेको जिल्लाका अन्य स्थानीय तहमा पनि दमकल छैन ।

४ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको कपिलवस्तु जिल्लामा २ वटा दमकल रहेका छन् । जिल्लाको कपिलवस्तु नगरपालिका र कृष्णनगर नगरपालिकामा दमकल रहेका छन् भने बाँकी ८ वटा स्थानीय तहमा अग्नि नियन्त्रण बारुण यन्त्र छैनन् । आवश्यक परेमा रूपन्देही जिल्लाबाट दमकलहरू ल्याउने गरिएको जिल्लाले जनाएको छ ।

पहाडी जिल्ला गुल्मीमा १२ वटा स्थानीय तह भए पनि दमकल भने १ वटा मात्रै रहेको छ । २ नगरपालिका र १० गाउँपालिका भए पनि १ वटा स्थानीय तह रेसुङ्गा नगरपालिकामा मात्रै ४ वर्ष अगाडि किनेको दमकल रहेको छ । जिल्ला सदरमुकाम रहेको रेसुङ्गा नगरपालिकाको दमकल जिल्लाका विभिन्न स्थानमा पुग्ने गरेको जिल्ला समन्वय समिति गुल्मीले जनाएको छ ।

३ नगरपालिका र ३ गाउँपालिका रहेको अर्घाखाँची जिल्लामा पनि एउटा मात्र दमकल रहेको छ । जिल्ला सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकामा २ वर्ष पुरानो दमकल रहेको छ । २ वर्ष अगाडि जिल्लामा दमकल थिएन ।

२ उपमहानगरपालिका १ नगरपालिका र ७ वटा गाउँपालिका रहेको दाङमा घोराई उपमहानगरपालिकासँग मात्रै एउटा दमकल रहेको छ । त्यो पनि निकै पुरानो दमकल हो । जिल्लामा आगलागीका घटना भएको खण्डमा ट्याङकरको प्रयोगबाट आगलागी नियन्त्रणको प्रयास गरिँदै आएको छ ।

६ वटा गाउँपालिका, १ वटा नगरपालिका र १ वटा उपमहानगरपलिका रहेको बाँके जिल्लामा ३ वटा दमकल रहेका छन् । नेपालगन्ज उपमहानगरपालिकासँग २ वटा दमकल रहेपनि एउटा दमकल पुरानो भएको हुँदा एउटामात्रै सञ्चालनमा रहेको छ । यस्तै जिल्लाको कोहलपुर नगरपालिकासँग पनि एउटा दमकल रहेको छ भने जिल्लाका ६ वटा गाउँपालिकासँग भने दमकल छैन ।

१० वटा स्थानीय तह रहेको पाल्पा जिल्लामा रहेका २ वटा नगरपालिकासँग एक–एक वटा दमकल रहेका छन् । जिल्लाको तानसेन नगरपालिका र रामपुर नगरपालिकासँग दमकल रहेको छ भने बाँकी ८ वटा गाउँपालिका दमकल छैन ।

९ वटा स्थानीय तह रहेको प्युठान जिल्लामा ७ गाउँपालिका र २ नगरपालिका रहेका छन् । जिल्लाको प्युठान नगरपालिकासँग दमकल रहेको छ । नयाँ दमकल रहेको नगरपालिकाले बताएको छ ।

११ वटा स्थानीय तह रहेको स्याङ्जा जिल्लामा ५ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् । जसमा पुतलीबजार नगरपालिका र वालिङ नगरपालिकासँग दमकल रहेको छ भने अन्य ९ वटा स्थानीय तहमा बारुणयन्त्र छैनन् । आवश्यकता अनुसार २ दमकल जिल्लाभर जाने गरेको सम्बन्धित नगरपालिकाले जानकारी दिएको छ ।

३ गाउँपालिका रहेको रुकुम पूर्वमा दमकल छैन । सङ्घीय संरचनामा गएपश्चात् बनेको यो जिल्लामा कुनै पनि दमकल छैन । यता १० वटा स्थानीय तह रहेको रोल्पा जिल्लामा १ नगरपालिका ९ वटा गाउँपालिका रहेको भए पनि रोल्पा नगरपालिकासँग एउटा मात्र दमकल रहेको छ ।

नयाँ दमकल रहेको बताउँदै नगरपालिकाले दमकलको काम टुँडिखेलको धुलो मार्ने काम मात्र गरिरहेको बताएको छ । ठुलो विपत्ति नआएको बताउँदै नगरपालिकालले आवश्यक परेमा छिमेकी जिल्लाबाट दमकल झिकाउने बताए ।