प्रदेश नं ७ का ५३ सदस्यमध्ये ५१ जनाले लिए शपथ ,२ जना अनुपस्थित - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रदेश नं ७ का ५३ सदस्यमध्ये ५१ जनाले लिए शपथ ,२ जना अनुपस्थित



कैलाली  । प्रदेश नम्बर–७ का सदस्यहरुले आइतबार कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको हलमा शपथ लिएका छन् । बिहान ११ बजे हुने भनिएको शपथग्रहण कार्यक्रम दिउँसो २ बजेमात्र सुुरु भएको थियो ।

प्रदेशप्रमुख मोहनराज मल्ल काठमाडौंबाट आउन ढिलाइ भएका कारण शपथ कार्यक्रम ढिलो सुरु भएको हो । मौसममा आएको खराबीका कारण प्रदेश प्रमुख मोटर बाटो हुँदै धनगढी आएका थिए ।

धनगढी पुगेलगत्तै घरेलु कार्यालयमा रहेको प्रदेशप्रमुखको कार्यालयमा पदभारग्रहण गरेलगत्तै उनी जिल्ला समन्वय समितिको हलमा पुगेका थिए ।

प्रदेशप्रमुख मल्लले प्रदेशसभाका ज्येष्ठ सदस्य दिव्यश्वरी शाहलाई पद तथा गोपनीयताको शपथग्रहण गराए । त्यसलगत्तै शाहले अरु प्रदेश सांसदहरुलाई शपथ गराइन् ।प्रदेश–७ मा प्रत्यक्षबाट ३२ र समानुपातिकबाट २१ गरी कुल ५३ जना प्रदेशसभा सदस्य रहेका छन् ।

शपथ कार्यक्रममा दुईजना सदस्य भने अनुपस्थित रहे । अनुपस्थित हुनेमा डोटीका भरत खड्का र समानुपातिकबाट सांसद चुनिएकी चुनकुमारी चौधरी रहेको सांसद सचिवालयले जानकारी दिएको छ ।अहिलेलाई प्रदेशसभा बैठकका लागि जिल्ला समन्वय समितिको हललाई नै प्रयोग गरिने बताइएको छ ।

यसअघि, धनगढी आउँदै गरेका प्रदेश प्रमुख मल्ललाई बौनियामा रहेकी उनकी माइली आमाले सगुनस्वरुप दही खुवाएर टीका लगाइ आशिर्वाद दिएकी थिइन् । मल्ल आउने जानकारी पाएपछि राजमार्गमा रहेको बौनिया र सुखडमा स्थानीयहरुले भव्य स्वागत गरेका थिए ।

पदभारग्रहणपछि प्रदेशप्रमुख मल्लले आफूले पाएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।