प्रदेश–२ को नाम ‘मधेश प्रदेश’ - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

प्रदेश–२ को नाम ‘मधेश प्रदेश’



जनकपुरधाम– प्रदेश–२ को नामकरणमा दलहरु सहमति नजिक पुगेका छन्। आइतबार भएको छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरु पनि ‘मधेश प्रदेश’ स्वीकार गर्ने पक्षमा देखिएका छन्।

नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले आफूहरु सहमतिको लागि लचक भएर ‘जानकी मधेश’को प्रस्ताव अघि सारेको बताए। उनले सत्तापक्ष लचक भए आफूहरु पनि सहमति गर्न तयार रहेको जनाए।

यसैगरी, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले पनि सहमतिको लागि ‘मिथिला मधेश’ अघि सारेको बताए। सत्ता पक्षले मधेश बाहेक केही सुन्नै नचाहेकोले आइतबारको बैठक निष्कर्ष विहीन भएको यादवको भनाइ छ। यादवले आफूहरु सहमतिका लागि तयार रहेको बताए।

गत भदौमा दलहरुले नाम र राजधानीको विषयमा प्रस्ताव राखेका थिए। प्रदेशको नामकरण सम्बन्धि प्रस्तावमा सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले ‘मधेश प्रदेश’ प्रस्ताव गरेका थिए। प्रमुख प्रतिपक्षी नेकपाले भने ‘जानकी प्रदेश’ र नेपाली कांग्रेसले ‘मिथिला भोजपुरा’ प्रदेश प्रस्ताव गरेका थिए।

तर, नेकपाले ‘जानकी मधेश’ र कांग्रेसले ‘मिथिला मधेश’मा सहमति जनाएका छन्।

यता दलहरुले गरेको प्रस्तावमा सहमति जुटाउन सभामुख सरोज कुमार यादवको संयोजकत्वमा रहेको समितिले गरेको पटक–पटकको छलफल पछि दलहरु ‘मधेश प्रदेश’ नाम राख्ने विषयमा पुगेका हुन् ।

दलका नेताहरुसमेतको सहभागितामा आइतबार सम्पन्न समितिको बैठकमा नामकरणको विषयमा सहमति नजिक पुगेको प्रतिक्रिया आएको बताइएको छ।

बैठकमा सत्तारुढ समाजवादी पार्टी र राजपा ‘मधेश प्रदेश’ हुनुपर्नेमा अडिग थिए।

मुख्यमन्त्री एवं समाजवादी पार्टी संसदीय दलका नेता लालबाबु राउतले नाम टुङ्ग्याउन नसकिए पनि दलहरु सहमति नजिक पुगेको प्रतिक्रिया दिए। उनले मुलुकमा संघीयता स्थापना गराउने ‘मधेश आन्दोलन’को सम्मानका लागि भए पनि ‘मधेश प्रदेश’ प्रदेश राख्नुपर्नेमा जोड दिए।

राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले नेकपा र नेपाली कांग्रेसले समेत मधेशलाई स्वीकार गरेको भन्दै धन्यवाद व्यक्त गरे। आगामी बैठकबाट सहमति हुने उनको विश्वास छ।