परदेश - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

परदेश



-शेखर विकल्प 

उनीहरूको भेट ६ बर्ष पछि भएको थियो । स्कुल मात्रै हैन कलेज पनि संगै पढेका थिए । रिता र सिता एकदम मिल्ने साथी । उस्तै कद उस्तै वर्ण । कतिले दुई बहिनी हो भनेर सोध्थे । कतिले जुम्ल्याहा हो र पनि भन्थे । स्वभावमा अन्तर भए पनि धेरै कुरामा नजिक थिए । कक्षामा संगै बसे पनि परिक्षामा कैले संगै परेनन् । तर अचम्म के भने उनीहरूको रिजल्ट उस्तै आउँथ्यो । एकले अर्काको सारे जस्तो । दुवै उस्तै दयालु । नाम पनि अनुप्रास मिलेका रिता र सीता । दुःख सुखका चौतारी थिए । गाउँघरको मेलापात दाउरा घास देखि सहर बजारको काममा सघैसँगै हुन्थे । स्नातक पढ्दै गर्दा बिहे भो रिताको । त्यसपछी उनीहरू छुट्टिए ।

बिहे पछी पनि रिता माईत नगएकी भने हैन तर सीतासँग भेट हुने सञ्जोग मिलेन । एकदिन कसो कसो फेसबुकमा जोडिन पुगे । फोन नम्बर आदान प्रदान गरे । समयले दुवैलाई परदेशी बनाएको थियो । रिता बिहे गरेर श्रीमानसंग डिपेन्डेन्डमा जापान छिरेकी थिई । उसको लोग्ने कुक भिसामा जापान छिरेको थियो । स्नातक पढाई सक्दा नसक्दै जापान छिरेकी थिई ३ बर्षको छोरो माइतमा छाडेर । सिता स्नाकोत्तर सकेर जागिर पनि गरेकी थिई । खै के मन गराई देशमा बस्न मन लागेन बिहे गरेर पनि बच्चा भएको थिएन । लोग्ने संग राम्रै सम्बन्ध थियो लोग्नेले ट्राभल एजेन्सिमा काम गथ्र्याे आफू स्कुल पढाउँथी । टन्न पैसा कमाउला देशमै ब्यापार व्यवसाय गरौंला भनेर लोग्नेले नै पठाएर विदेश पसेकी थिई । लोग्ने पनि सिता गएको दुई बर्षपछी आफू पनि डिपेन्डेन्डमा जान पाईन्छ भनेर ऋणधन गरेर विदेश पठाएको थियो ।

परदेश सपनाको सहर हो ।

रहरहरू एकातिर हुन्छन् बाध्यता अर्कोतिर । घाँटीमा डिएसएलआर क्यामेरा र हातमा आईफोन र नयाँ नयाँ ठाउँमा मुस्कान सहितका फेसबुकमा देखिने फोटामा जस्तो खुसी छैन विदेश । विदेश नपसुन्जेल त्यस्तै लाग्छ सबैलाई । अझ स्टुडेन्ट भिसामा जापान छिर्नेको लागि तातो बालुवामा खाली खुट्टा दौडिनु भन्दा पनि दुखद हो ।

त्यहि दुःखसंग पैठेजोरी खेल्दै थिई सिता । एकातिर घरको ऋण अर्को तिर कलेजको पढाई दिनरातको मेहनत कलेजको फि र महंगो बसाई सबै समस्या मात्रै थिए । सुरूमा भाषा नबुझिने समस्या । मान्छेमा व्यस्तता यस्तो हुन्छ कि संगै रूममा बस्ने साथी बिरामी हँुदा पनि हेरचार गर्न मिल्दैन । यो महिना काम नगरे अर्को महिना के खाने भन्ने समस्या । उसमाथी न कलेज बिदा लिन मिल्ने न त काममा बिदा पाईने । खैर यस्तै यस्तै समस्या झेल्दै ६ महिना बितीसकेको थियो सिताको । जापान आएको ६ महिना पछि भेट भयो सिताको रिता संग । कैले कसको विदा नमिल्ने कैले कसको यस्तै हुंदा पनि नजिकको साथी संग पनि भेट हुन संभव थिएन । फोन र फेसबुक नै सम्बन्धमा कसी लाउने सहारा हुन्थे ।

रिता सिता भेट भए कुरा गरे । मन पोखे रोए हाँसे । घर सम्झे देश सम्झे र संगै बालापन । “सिता तं मास्टर्स सकेकी मान्छे किन आईस् जापान । तं जस्तो मान्छे त आउन नहुने हो ।“ रिताले यस्तो भन्दा सिता झण्डै रोईन । किनकी जापानमा न पढाईको कुनै महत्व थियो न त नेपालीले नेपालीलाई गर्ने व्यवहार नै । पढ्न आएका विद्यार्थी भनेर के गर्नु । जापान देश सभ्य भनेर के गर्नु । मान्छे असभ्य भएपछि । मान्छेमा लाज डर थोपो हुन्थेन । ठाउँ कुठाउँमा बोल्ने बोली यति असभ्य र छाडा हुन्छ कि तिनी शब्द सायद शब्दकोशमा पनि छैनन् होला ।

अर्को दुःखको कुरा रितालाई के पनि लागेको भने जापानमा भलै तीन महिना पहिला आउने विद्यार्थी किन नहोस् उसले आफूलाई सेन्पाई हँु भन्दै नयाँलाई हेप्ने चलन जहाँ कहि व्याप्त छ ।

आफू भन्दा ५÷६ बर्ष कम उमेरका भाईहरू पनि तिम्लाई काम लाईदिन्छु यो गर उ गर । तिमी वाईन मात्रै खाउली के एक दिन मिलाएर बसम् । आज संगै बसम् न यस्ता प्रस्ताव दैनिक जसो आउँथे । “यस्तै हो हेर मान्छेको मति बिग्रेपछी के गर्नु ।” सिताले अरू केहि भनिन । रिता आएको दुई बर्ष भईसके पनि उसको भाषा खासै राम्रो थिएन । कैले यता कैले उता काम गर्दा गर्दै बोल्न सिकेकी हो । किनभने जापानमा वर्किङ र डिपेन्डेन्ड भिसामा आउनेले दैनिक बोलचाली बाटै भाषा बनाउने हुनाले निर्वाह बाहेक खासै राम्रो हुन्थेन । तर अलि धेरै बर्ष बस्नेहरूको भने दैनिक अभ्यासले गर्दै भाषा राम्रो बोल्नेहरू पनि भेटिन्थे ।

“सिता, काम कस्तो छ गाह्रो होला है तर स्टुडेन्टको त भाषा हुनाले जहाँ नि सजिलै काम भेटिन्छ । “ “के सजिलो के गाह्रो रिता, यौटै यामातो गर्छु अर्को वेन्तो हो । आएको दुई महिना सम्म कहिं काम पाईएन । हेर न हामी बसेको ठाउँमा त हेन्डक्यास काम पनि नपाईने । दुईटै चुचोमा हो डरै छ । भिसा पनि १५ महिना मात्रै हो । आएको ऋण त्यसै छ अब कलेज फि तिर्ने बेला भो । म त त्यसै दिक्क छु ।” सिताले एकै सासमा सबै कुरा सकी । रिताले ढाडस दिदै भनी — “नआत्ते बानी पर्छ । तेरो त मास्टर्स छ भाषा राम्रो बना निहोंगो सकिदैं वर्किङ गर्न पर्छ । अनि आनन्द ।” “अनि तेरो क कस्तो छ काम के मा गर्छेस् ? कमाई के कति छ ? भिनाजुको राम्रै होला नि ।”

“कमाईको कुरा नगर हेर । आएको दुई बर्ष भो घर जान मन लागिराछ । बाबु जैले ममी कैले आउनुहुन्छ भनेर रून्छ । आफू यहिको यहि भासिईयो । साह्रै दिक्क छ । मैले गर्न सके हो भिनाजुको राम्रो छैन । भिनाजुको भर्खर ३ बर्षको भिसा आछ अहिले सम्म आएकै रेस्टुरेन्टमा काम गर्नुभाको छ । तलाई के ढाट्नु हेर १२ मान हो । त्यहि नि वेलामा पैसा दिन्न । रेस्टुरेन्ट नि चलेन अब बन्द हुन्छ होला । भिनाजु नि अब हाकेनलाई भनेर बाहिर काम गर्नि भन्नुभाछ । त्यो भएपछी २०÷२१ मान हुन्छ कि भन्ने हो । मेरो नि त्यस्तै छ दुई दिन एयरपोर्ट हो १२÷१२ घण्टा त्यहाँबाट १२ मान आउँछ अर्को बेड हो ४ दिन कैले ७÷८ घण्टा हुन्छ कैले ४÷५ त्यहांबाट ८÷९ मान आउँछ त्यहि त हो । तलाई थाहै त छ । ६ मान रूमकै भाडी छ । मोबाईल भन्यो । टेकि भन्यो । कैले यता कैले उता यो महंगी ।” “त्यहि त रिता, कमाई नबच्ने हेर न मेरो नि कसै गरे पनि ८÷९ मान खर्च हुन्छ महिनाको दुईटा काम गरेर आउने त्यहि २३÷२४ मान हो त्यहि नि त्यस्तै छ ।” यस्तै यस्तै दुःख गनथन गर्दै दिन बिताए बाहिर गएका भिनाजु आएपछी उनी संग भेटिएर । सिता फर्किई निकै हलुका महसुस गर्दै ।

परदेशमा कोहि नेपाली भेटिनु धित मरून्जेल दुख सुख पोख्न पाउनु भनेको घर पुग्नु जस्तै हो । समय वित्दै थियो । उनीहरूको भेट हुन नपाए पनि फोन दैनिक जस्तो हुन्थ्यो । रिताले सितालाई बारम्बार सम्झाउँथी हेर है सिता कुनै पनि बहानामा केटाहरू नजिक होलान् । परदेश त दाइ भाई भनेर पनि नजिक हुन हुन्न । आज दाइ भाइ बनेर नजिक हुन्छन् भोलि भनेको मान्ने भए मान् गर्लफ्रेन्ड नत्र गर्लफ्रेन्ड हो भन्दै हिन्छु । यो गर्छु त्यो गर्छु भनेर तनाव दिन्छन् खुब ख्याल गर है । रिताले आफूले पनि भोगेकै कुरा गरेकी थिई किनकी उसका कति साथीहरू पनि काम नआएर अरू अरू केटासंग घुम्न गएको देखेकी सुनेकी थिई । रिताले जे जे भन्थी सितालाई त्यस्तै परेकै हुन्थ्यो । मनमनै झसंग डराउँथी यसले कसरी देखे झैं बोल्छे भनेर । किनकी सिता नजानिदो पाराले कोहि केटा संग नजिक हुदै थिई । वाईन खान सिकेकी पनि थिई । कहिले कसो मौका मिलाएर घुम्न पनि निस्कन्थी । सिमसिम झरी परिरहेथ्यो । जापानको मौसम बुझिनसक्नु हुन्छ । चर्को घाम लाग्दा लाग्दै झरी पर्दिने । झरी परेपछि जाडो महसुस भैहाल्ने । कैले घाम कैले पानी कैले दिन कैले रात यस्तै यस्तै गरी दिन गईरहेथ्यो । न उज्यालो न अध्यारो सघै एकनास ।

आउने दशैंमा घर जाने भनेर रिताले दिनरात नभनी काम गरेकी थिई । शुक्रबार र शनिबार दिनमा काम गर्थी । आज शुक्रवार भर्खर कोठामा आईपुगेकी थिई । आठ बजे सम्म काम भए पनि सामान यता त्यता गर्न बजारमा भुलेर रूम आउदा १० बजिसकेको थियो । लोग्ने अझै काम बाट आउने बेला भएको थिएन । कैले ११ त कैले १२ पनि बज्थ्यो । रिता खाना बनाउदै थिई । त्यस्तैमा अचानक सिताले रूदै फोन गरी । “रिता म बर्बाद भएं म के गरौं ? नरो न एकैचोटी !” रिता आत्तिई । “मलाई जुम्बी भिसा आयो ।” हँ….. रिता अवाक् भई । के भन्नु कसो गर्नु छटपटी भो । तैपनि मनलाई बाँधेर सोधी— “कैले आयो ? पहिले केहि भनेकी थिईनस् त ?

“हेर न के गरूँ अब । चुचो जुधेको नि थिएन । जिखान बढी पनि भाथेन ।“ चुचो दुईटा बुझाईथिस् र ? अँ गाक्कोले चुचो दुईटै माग्यो । जुन राम्रो छ त्यो मात्रै भिसा कोउसिन हाल्दिन्छु भनेथ्यो । सेन्पाईहरू पनि ४ जनालाई जुम्बी आको थ्यो । मेरो नि एप्लाई गरेको २ महिना बढी भाथ्यो भिसा आउला भनेको आएन । जुम्बी आउला भन्ने त कल्पना पनि थिएन । सुरूमा दुई महिना कामै गरिन । पछि भिसा थप्ने बेलामा पनि यौटा काम यामेते गरेकी थिएं । अरूअरू सुरू देखि लगातार दुईटा काम गर्नेलो नि भिसा आईराछ । मेरो त भाग्य मै यस्तै । टेन्सन नलिग् । भोलि त मेरो काम छ पर्सी दिउसो आईज । भिनाजु नि घरै बस्नुहोला सायद । जे जसो गर्ने हो सल्लाह गरूम्ला नआत्ते बाटो लाग्छ । भिसा एप्लाईमा छ भनेर भिसाको मिति सकिए पनि कम्पनीले काम दिईरहेको थियो । तर सितालाई काम जान मन लागेन ।

न घरमा कल गरेर यस्तो भो भनेर सुनाउन सक्थी । आफूसंग नजिक भएको केटा पनि जुम्बी पाएको थाहा पाएर टाढा भईसकेको थियो । रूममा एक्लै छट्पटाउँदै थिई । स्कुल पढाएको । लोग्नेको साथ घर परिवार देश माया । स्कुलका केटकेटीले गर्ने आदर । समाजले गर्ने माया । लोग्नेका सपना । त्यो संगै १३ लाख खर्च गरेर आएकोमा तिर्न बाँकी ५ लाख रिन । यस्तै यस्तै कुराले उ झन ग्रसित भई । अब के गरौं ? रिफ्युजी जाउँ फर्म समेत दर्ता गरेको छैन भन्ने सुनेकी थिई । घर फर्कम रिनै बाँकी छ त्यसमाथी रित्तै फर्किनुपर्ने ? यस्तै सोच्दा सोच्दै रात बित्यो । उज्यालो भयो । रातभरी काम गर्न गएका साथीहरू रूम फर्के । सिता यसै मन बहलाउन पार्कतिर निस्की । रिताले लोग्ने संग कुरा गरी । उसले मेरा साथी छन् । रिफ्युजी बसेका उनीहरू संगै सल्लाह गरौंला ।

आएको १५ महिनामामै घर फर्केर के गर्ने आको रिनै कति होला । केटी मान्छे कति रो तिरेकी होली र । उसलाई पनि रिफ्युजीमा एप्लाई गर्न लाउन पर्ला । यस्तै सल्लाह गरे रिताका लोग्ने स्वास्नीले । ३० दिनको जुम्बी भिसा पाएपछी कलेज काम सबै त्यत्तिकै सकिए । अब ३० दिन भित्रमा नेपाल फर्कनु भनेर तयारी समय दिएको थियो ।

सिता दोधार मन बोकेर रिताकोमा पुगि । आउजाउ खासै हुन नपाए पनि परदेशमा घर भनेकै रिताको रूम थियो उसको लागि । सबैले बसेर सल्लाह गरे । ३० दिन बाँकी रहदै २६÷२६ दिनमा स्टे भिसालाई एप्लाई गर्ने । ६ महिना सम्म हेन्डक्यास काम खोजेर गर्ने । त्यतिन्जेल रिताहरू संगै मिलेर बस्ने । महिना बित्न बेर थिएन दिन जसरी रात पनि उसैगरी जान्थ्यो । रिताको लोग्नेको साथी मार्फत स्टे भिसा एप्लाई गरि । ईमिग्रेसनमा चिनेका नेपाली हुनाले केहि सहज पनि भो । र सिता रिफ्युजी बस्ने सोच सहित दुई महिनाको स्टे भिसा लिई । स्टे भिसाको अवधिमा कतै काम गर्न पाईन्थेन ईमिग्रेसनलाई थाहा नहुने गरी हेन्डक्यास काम गर्नु पथ्र्याे । बसाइ टोकियो हुनाले काम पनि मिल्यो । सिता रिताकै रूममा मिलेर बस्न थाली ।

रिता प्रायः काममै हुन्थी आइतबार एकदिन फुर्सद हो त्यहि पनि यता उता गर्दै सकिन्थ्यो । तर आज शनिबार थियो । रिता काममा गएकी थिई । सिता र रिताको लोग्ने घरमै थिए उमेरले बराबर भए पनि बोल्न सजिलोको लागि सुरूबाटै भिनाजु भन्थी । रिताले पनि सिताको लोग्नेलाई भिनाजु नै भन्थी । आज संयोगले दुबैकौ विदा छ घुम्न जानु यसले पनि बोर मानेकी छ घुमाउन लैजानु भनेर रिता काममा गएकी थिई । सिता र रिताको लोग्ने बजार तिर निस्के । फोटो खिचे हांसे रमाईलो गरे । साली भेनाले वाईन वियर खाएर आफ्ना दुख सुख साटे । साँझ नपर्दै रूममा फर्किए ।

रिता कामबाट फर्किन अझै २ घण्टा बाँकी थियो । रिताको लोग्ने वियरले झ्याप भैसकेको थियो भने सितालाई रमरम बनाएको थियो । भिनाजु फेरि बाहिर गएर बियर वाईन अरू के के लिएर आए । दुबैले फेरि पिए । नसा चढ्दै गयो । सिताले भिनाजु संग निकै निकट महसुस गरी यति सम्म भई उसको ओंठको चुरोट सम्म खोसेर पिईदिई । उनीहरू विस्तारै नसामा हराउँदै गए । आफैलाई बिर्सन थाले । जिस्किन चल्न थाले । अन्तत आलिंगनमा बाँधिए ।

एकाकार भएर बिस्तारामा ढले । रात बढ्दै थियो । बजारको व्यस्ततालाई चिर्दै । थकान र भोक संगै बोकेर लखतरान भएर रिता घर फर्किई । आज त दुबै जना घरमा छन् । के के परिकार बनाए होलान् । कहाँ कहाँ घुमे रमाईलो गरे म छुटें । यस्तै यस्तै कुरा खेलाउँदै रिताले रूमको ढोका खोली । जब कोठामा लोग्ने र सितालाई निवस्त्र यौटै बेडमा देखि रिता चेतनाशून्य भई । उसलाई आफैले टेकेको जमिन भासिँदै भासिँदै गएजस्तो भयो ।

जापानी शब्दहरू

गाक्को— स्कुल र कलेज

कोउसिन— भिसा प्रक्रिया

मोनदाइ— समस्या र गुनासो

न्युकान— अध्यागगमन बिभाग

जुम्बी भिसा— ३० दिनको घर फर्कने तयारी भिसा

स्टे भिसा— अस्थाई ६० दिनको भिसा

चुचो— बैंक खाता र पासबुक

यामेते— छोड्नु

यामातो— ट्रान्सपोर्ट कम्पनी

बेन्तो— खाना बनाउने कम्पनी

सेंपाइ – अग्रज

१ मान – १० हजार

रिफ्युजी— शरणार्थी