मन्त्री प्रदीप यादवले भने- विमानस्थल निर्माणका नाममा वन विनास गर्न दिन्न - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

मन्त्री प्रदीप यादवले भने- विमानस्थल निर्माणका नाममा वन विनास गर्न दिन्न



काठमाडौं- वन तथा वातावरणमन्त्री प्रदीप यादवले विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चित नभएसम्म प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा पनि रूख काट्न नदिने बताएका छन् ।

मन्त्री यादवले अहिलेकै अवस्थामा एक रूख पनि काट्न नदिने भन्दै विमानस्थल निर्माणका नाममा वन विनास गर्न नदिने बताए । रूख कटान गर्ने, विभिन्न नाटक गरेर पैसा खाइदिने काम गर्न नदिने पनि उनले बताए ।

एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चित भएपछि मात्रै रूख काट्ने अनुमति दिइने बताए। व्यक्तिगत रूपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पक्षधर भए पनि पहिले बजेट सुनिश्चितता हुनुपर्ने उनको भनाइ छ।

मन्त्री यादवले भने, “विमानस्थल निर्माणका नाममा वन विनास गर्न दिइनेछैन, सम्मानित अदालतलाई म धन्यवाद दिन चाहन्छु, रूख कटान गर्ने, विभिन्न नाटक गरेर पैसा खाइदिने, तर विमानस्थल निर्माणका लागि बजेट सुनिश्चितता नहुने षड्यन्त्र हुन दिन्नँ।”

मन्त्री यादवले सामुदायिक वनका क्रियाकलापले नेपालको वनजङ्गल क्षेत्रमा उल्लेख्य वृद्धि हुनाका साथै वनको विकासमा ठूलो योगदान पुगेको बताए।

उनले वन कर्मचारी, विभिन्न सामुदायिक वन तथा समुदायमा आधारित साझेदारी वन, कबुलियती वन, निजी वनहरूले गरेका राम्रा कामका कारण अहिले वन तथा वातावरण मन्त्रालय गालीको ठाउँमा ताली खाने मन्त्रालय भएको बताए।

यस विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले वन विनाश नहुने गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउने परमादेश दिएको थियो। सर्वोच्चको आदेशमा सकभर निजगढको विकल्प खोज्नुपर्ने उल्लेख छ।