प्रदीप पौडेल भन्छन्- नेतामाथि छानबिन नै नगर्ने अख्तियारको के काम
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक छायाबाट मुक्त राख्नुपर्ने बताएका छन् ।
उनले भ्रष्ट्राचार नियन्त्रण गर्ने संस्थालाई राजनीतिको दाउपेचबाट माथि राख्नुपर्नेमा जोड दिँदै कार्यकारी भूमिकामा रहेकाहरुको अख्तियारले छानबिन गर्न पाउनुपर्ने माग गरे ।
शुक्रबार बुढनिलकण्ठ नगरपालिका वडा नं ३ र ५ इकाइले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले भने, ‘कार्यकारी भूमिकामा रहेका मानिसहरुको काममा निगरानी गर्न नपाउने हो भने अख्तियारको के काम ? कसरी भ्रष्ट्राचार रोकिन्छ ?’
नेता पोडेलले स्वतन्त्र र निष्पक्ष व्यक्तिले नेतृत्व गरेमा मात्रै अख्तियारले उचित ढंगले काम गर्न सक्ने पनि बताए । ‘स्वतन्त्र र निष्पक्ष मान्छेहरुले नेतृत्व गरे भनेमा मात्रै अख्तियारले राम्रोसँग अनुसन्धान गर्न सक्दछन्’, उनले भने, ‘त्यसैले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिको छायाँबाट मुक्त हुनु पर्दछ ।’
नेता पौडेलले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले अदालतमाथि हस्तक्षेप गरेको आरोप समेत लगाए । आफूसँग नेकपा एमालेबाट प्रतिस्पर्धामा रहेका ईश्वर पोखरेल सोही सरकारमा सामेल भएर पनि न्यायालयमाथि हस्तक्षेप हुँदा केही नबोलेको टिप्पणी गरे ।
साथै आफूहरुले न्यायालय सुधारदेखि अख्तियारको निष्पक्षतासम्मका लागि योजना बनाएर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । ‘न्यायालय माथिको नांगो हस्तक्षेप छ, केपी शर्मा ओली दुई तिहाइको सरकार बनाउनुभयो । उहाँहरु ईश्वर पोखरेलहरु सरकारको नेतृत्व गर्नुभयो । उहाँहरुले नै दुई तिहाइको शक्ति प्रयोग गरेर अदालतमाथि पनि हस्तक्षेप गर्नु भयो’, उनले भने, ‘त्यसैले न्यायालयको निष्पक्षताको निमित्त पनि हामीले कामहरु गर्नेछौँ ।’
नेता पौडेलले संसदमा समावेशी प्रतिनिधित्व रहेको बताउँदै संसदलाई प्रत्यक्ष निर्वाचित कार्यकारीको अवधारणमा लैजान आफूहरु लागि परेको पनि बताए । उनले काठमाडौंका मतदाताहरुले आफ्नो ठाउँको विकास र न्यायको लागि मत हाल्न समेत आग्रह गरेका छन् ।