गृहमन्त्रालय धरापमा भएपछी प्रचण्डलाई छाडेर ओली तिर लागे बादल - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

गृहमन्त्रालय धरापमा भएपछी प्रचण्डलाई छाडेर ओली तिर लागे बादल



काठमाडौं । स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतसँग सरकारले गरेको ११ बुँदे सहमतिका विषयमा नेकपा अध्यक्ष मध्येका एक जना पुष्पकमल दाहाल प्रचण्डले कुनै खास टिप्पणी गरेका छैनन् ।

तर पूर्वएमालेका भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, घनश्याम भुसाललगायतले खुलेर आलोचना गरेका छन् । सचिवालय सदस्य बामदेव गौतम, नारायणकाजी श्रेष्ठ भने पार्टीभित्रका बैठकमा बिरोधी कित्तामा उभिए भने सामाजिक सञ्जालमा यदाकदा टिप्पणीमा उत्रिएका छन् ।

यता, अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल, नेकपा महासचिव विष्णु पौडेललगायत भने सहमतिको बचाऊमा खुलेर लागेका छन् ।

यो सहमतिको आन्तर्य र प्रयोग कसले किन गरिरहेको छ ? यसले अबको नेकपाभित्रको राजनीतिक ध्रुवीकरण कस्तो बनाउन थालेको छ ?

नेकपा एकीकरणपछि नेताहरूको समिकरण अवसरका आधारमा अस्थिरजस्तो देखिएको छ । त्यो भेनेजुएला प्रकरणमा विज्ञप्ति प्रकाशितको विषय होस् वा राउतसँगको सहमति । नेपालमा युनिफिकेशन चर्चको सम्मेलन होस् अथवा सरकार सञ्चालनको गति ।

यो अस्थिर अवस्थाको प्रयोगका क्रममा राउतसँगको पछिल्लो सहमतिले आफूलाई बलियो बनाउन सफल भएका छन्, गृहमन्त्री बादल । यो सहमति उनको योजनामा गोप्यताका साथ प्रधानमन्त्री ओलीसमक्ष पुगेको थियो । यसले सरकारको गति मधेसमा बलियो बनाएको भन्दै अहिले ओली–बादल समिकरण बनेको छ । र, यसको सुत्राधारका रूपमा नेपथ्यमा गृहसचिव प्रेम राई देखिए ।

उच्च सरकारी स्रोत भन्छ,‘सरकारको फेरबदलको कुरा चलिरहेका बेला भएको यो सहमतिले मधेस राजनीति र नेकपाभित्रको आन्तरिक समिकरणमा पनि प्रभाव पारेको छ । जस्तो, हुन नसकेको ओली–बादल समिकरण बलियो बनायो ।’

एकीकरणपूर्व बादल तत्कालिन माओवादी केन्द्रका बरिष्ठ नेताका आधारमा राष्ट्रिय सभा सदस्य हुँदै गृह मन्त्रालयको जिम्मेवारी पुगेका थिए । नेकपा माओवादी क्रान्तिकारीबाट तत्कालिन एमाओवादीमा प्रचण्डले प्रवेश गराएपछि पार्टीको नाम माओवादी केन्द्र बनेको थियो ।

एमालेसँगको एकीकरणपछि बनेको नेकपामा पुग्दा भने बादलले पनि समिकरणलाई बदलेका हुन् । पूर्वमाओवादी नेताहरू भन्छन्,‘प्रचण्डले ल्याएका थिए, अवसरका लागि ओली कित्तामा भ्याउन थाले ।’

बादलले यो प्रयोग गर्नुका पनि निश्चित कारणहरू खुट्याउन थालेका छन्, नेताहरू । तिव्र आलोचनाबीच गृह मन्त्रालयको जिम्मेवारीबाट मुक्त नहुनका लागि उनले आन्तरिक समिकरणको लफडामा रहेको नेकपाका अध्यक्ष ओलीलाई समातेका हुन् ।

सरकारमा मन्त्री हेरफेरको चर्चा चलिरहेका बेला बादलले किन यो बाटो रोजे ?

गृह मन्त्रालयबाट बादल स्थानान्तरण गरी नेता इश्वर पोखरेललाई ल्याउने चर्चा चलेपछि उनको बलियो समिकरण प्रधानमन्त्री ओलीसँग भयो । साढे ३३ किलो सुन प्रकरण, निर्मला प्रकरणमा गृहमन्त्रीको चर्को आलोचना भएपछि मन्त्रालयमा जिम्मेवारी हेरफेरको अवस्थामा प्रधानमन्त्री पुगेका थिए ।

तर, तत्कालै गृहमन्त्री बादललाई नफेर्ने निर्णयमा प्रधानमन्त्री पुग्नुको कारण भनेकै बादलको राजनीतिक उडान हो । पूर्वमाओवादीमा फरक पिल्लर बनेका उनी पार्टी एकीकरण भएको लामो समयपछि ओली कित्तामा उभिन राउतसँगको सहमतिको प्रस्ताव लिएर ओलीसमक्ष पुगेका थिए ।

नेकपाका कार्यकर्ता र शुभेच्छुकको प्रश्न छ– अब कसरी मन्थन हुन्छ, अस्थायी समिकरण ?

ओली अध्यक्ष र प्रधानमन्त्रीको बलियो भुमिकामा रहेका कारण तत्काल यो समिकरण मन्थन हुने अवस्थामा छैन । जिल्ला र स्थानीय तहसम्म पार्टी एकीकरणको टुंगो नलागेसम्म शक्ति सन्तुलन र शक्ति आर्जनको खेलमा यो अस्थायी समिकरण कायम रहने विश्लेषकहरूको बुझाई छ ।

उता, जसरी अर्का अध्यक्ष प्रचण्डको समिकरणमा पूर्वएमाले नेताहरू लागेका छन्, त्यसैगरी पूर्वमाओवादी नेताले पनि ओली कित्ताको अवसरलाई छाड्ने छैनन् । एकीकरण टुंगो लागेर महाधिवेशनको घोषणा नहुन्जेल नेकपामा शक्ति सन्तुलनका अस्थायी खेल जारी रहने देखिन्छ ।