नेकपाको विचारधारामा ‘प्रचण्डपथ’ राख्न प्रस्ताव
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक जारी छ।
गत मङ्सिर २९ गतेदेखि पार्टी कार्यालय धुम्बाराहीमा भइरहेको बैठकमा स्थायी समिति सदस्यहरूले विभिन्न विषयमा आफ्ना धारणाहरू राखिरहेका छन्।
बुधबारको बैठकमा पनि विभिन्न नेताहरूले आफ्नो धारणा राखेका थिए । यसैक्रममा पूर्वमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य मातृका यादवले नेकपाको विचारधारामा प्रचण्डपथलाई पनि समेट्नु पर्ने भनाइ राखेका छन्।
स्थायी समिति बैठकमै यादवले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको प्रतिवेदनमा प्रस्तावित वैज्ञानिक समाजवादको बाटो हुँदै साम्यवादमा जाने कार्यदिशामा असन्तुष्टी जनाउंदै यस्तो प्रस्ताव गरेका हुन् ।
स्रोतले बताएअनुसार नेकपाको स्पष्ट विचारधारा नभएको र प्रचण्डपथ समेट्दा पूर्ण हुने यादवको भनाई थियो । ‘हाम्रो अहिले स्पष्ट विचारधारा छैन त्यही भएर हामी रूमलिएका छौं,’ यादवले बैठकमा भने,‘हामीले पहिला प्रचण्डपथ छोड्यौं। पछि माओवाद छोड्यौं। विचारधारा एकएक गर्दै छोड्दै जाने हो भने त हामी कम्युनिष्ट पार्टी नै रहँदैनौं।’
सशस्त्र युद्धका बेला तत्कालीन नेकपा माओवादीले प्रचण्डपथलाई पार्टीको विचारधारामा राखेको थियो।
नेता यादवले बदलिएको परिस्थितिमा पनि प्रचण्डपथका सकारात्मक कुरालाई आदर्श मानेर अघि बढ्न सकिने तर्क गरेका छन्।