प्रचण्डलाई अध्यक्ष बनाउन ओलीले नमानेपछि एकता सङ्कटमा ! - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

प्रचण्डलाई अध्यक्ष बनाउन ओलीले नमानेपछि एकता सङ्कटमा !



काठमाण्डौ । पार्टी एकताको मिति नै घोषणा गर्ने दाबी गरेका नेकपा एमाले र माओवादीबीच आज पनि कुनै निष्कर्ष निस्किन सकेन ।

विहान एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको वार्तापछि पार्टी एकताको मिति घोषणा गर्ने बताइए पनि उक्त वार्ताले मिति घोषणा गर्न नसकेको हो ।

विहानै बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री ओलीबीच एक घण्टा गोप्य रुपमा छलफल गरेका थिए । छलफलमा सहमति जुटाउन भने सकेनन् ।

बुधवार माओवादी केन्द्रको सचिवालय बैठकमा प्रचण्डले सचिवालय सदस्यलाई एकता हुने भन्दै आज ओलीसँग वार्ता गरी विवादित विषयलाई टुंग्याउने बताएका थिए । सोही अनुरुप दुई अध्यक्षबीच वार्ता भएको हो ।

विहानको वार्ताले ठोस उपलब्धि हासिल गर्न नसकेपछि आजै दिउसो तीन बजे पुनः ओली र प्रचण्डबीच भेटवार्ता गरेर पार्टी एकताको विषयमा टुङ्गो लगाउने भनिए पनि दोस्रो बैठक बस्नै सकेन ।

पार्टी एकतापछि शीर्ष नेताको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा नै सहमति हुन नसक्दा एकता प्रक्रिया नै अन्यौलमा परेको हो ।

माओवादी अध्यक्षले महाधिवेशनबाट आफूलाई पार्टी अध्यक्ष बनाउनुपर्ने शर्त अघि सारेपछि सहमति नभएको बताइएको छ ।

तर ओलीले भने आफू प्रधानमन्त्री पाँच वर्ष भइरहने र महाधिवेशनबाट एमालेकै कुनै एक नेतालाई अध्यक्ष बनाउने रणनीति लिएका छन् । ओलीले माधवकुमार नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको आशंका प्रचण्डले गरेका छन् ।

गत वैशाखमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले दुई अध्यक्षलाई विवादित विषयमा सहमति जुटाउने जिम्मा दिएको थियो । यसबीच दुई अध्यक्ष पटक पटक गोप्य बैठकमा बसेपनि सहमति जुट्न सकेको छैन ।

दुई दलबीच एकीकृत पार्टीमा नेतृत्व, चुनाव चिह्न र जनयुद्ध शब्दका विषय सहमति जुटेको छैन । एकताका लागि गठन भएका कार्यदलले यी विषयलाई थाँती राख्दै प्रतिवेदन बुझाएका थिए ।

कार्यदलले वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन एकता गर्न सुझाब दिएका थिए । तर त्यस दिन एकता हुन सकेन ।

प्रचण्डले वैशाख २२ गते माक्र्स जयन्तीका दिन एकताको घोषणा हुन सक्ने बताउँदै आएका थिए । तर आजको बैठक निष्कर्षविहिन भएपछि २२ गते गर्ने भनिएको घोषणा पनि टरेको छ ।