प्रचण्डको खुलासा: एमसीसी पारित नगरेको भए हेग पुर्‍याउने तयारी थियो - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

प्रचण्डको खुलासा: एमसीसी पारित नगरेको भए हेग पुर्‍याउने तयारी थियो



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित गर्न आफूहरु सहमत नहुँदा कांग्रेस र एमाले मिलेर पास गर्ने, त्यसपछि माओवादीलाई द्वन्द्वकालीन मुद्दामा फसाएर हेग लैजानेसम्मको षड्यन्त्र परास्त गर्न ब्याख्यात्मक टिप्पणीको बाटो लिइएको प्रष्ट पारेका छन् ।

केन्द्रीय समितिको बैठकमा करिब डेढ घण्टा भाषण गरेका प्रचण्डले जनयुद्ध लडेका माओवादीहरुलाई शान्ति प्रक्रियाको चिन्ता रहेको भन्दै नारायणकाजी श्रेष्ठ लगायत तत्कालीन एकता केन्द्रका नेताहरुप्रति कटाक्ष समेत गरेका थिए ।

प्रचण्डले बैठकमा भने– युद्ध नलडेका साथीहरुलाई त के थियो र ? उहाँहरु बाहिर हुने । मसहित युद्ध लडेका सहयोद्धाहरु सबै हेगमा पुग्ने अवस्था आएकाले एमसीसी पारित गर्नै पर्ने भयो ।’

केन्द्रीय समिति बैठकको पहिलो दिन अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले मात्र बोलेका थिए ।

श्रेष्ठले अहिलेसम्म नेपालमा भएका परिवर्तनको नेतृत्व गरेजस्तै प्रचण्डले देशभक्तिपूर्ण आन्दोलनको पनि नेतृत्व गरिदिए हुन्थ्यो भन्ने आफ्नो चाहना सफल नभएको बताए ।

उनले हेग लैजाने त्रास देखाएर प्रचण्डले पार्टी पंक्तिलाई भावनात्मक ब्ल्याकमेल गरेको आरोप लगाए । तर जतिसुकै असहमति भए पनि पार्टी नफुटाउने उनले बताएका थिए ।