प्रचण्ड भन्छन्: निर्वाचन आयोग, संसद् सचिवालय र अदालतले हाम्रो योजना सफल हुन दिएनन् - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

प्रचण्ड भन्छन्: निर्वाचन आयोग, संसद् सचिवालय र अदालतले हाम्रो योजना सफल हुन दिएनन्



काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो राजनीतिक प्रतिवेदनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्।

माओवादीको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा सोमबार दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले प्रस्तुत गरेको ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदनमा एमाले र माओवादीबीचको एकता कायम नरहनुको दोष ओलीमाथि लगाएका हुन्।

४५ पृष्ठ लामो प्रतिवेदनको २६औं पृष्ठमा दाहालले ओलीबारे लेखेका छन्।

प्रतिवेदनमा ओलीबारे दाहालको विचार:

केपी ओलीको चरम व्यक्तिवादी अहङ्कार सहमतिका विपरीत निरङ्कुश ढङ्गले पार्टी र सरकार चलाउने धृष्टता एवं उनमा रहेको मार्क्सवाद विरोधी सामन्ती, दलाल, पूँजीवाद र वैदेशिक प्रतिक्रियावादका अगाडि आत्मसमर्पण गर्ने चरित्रका कारण पार्टीभित्र चरम गुटबन्दी अस्वस्थ अन्तरसङ्घर्षको विकास भयो। यो अन्तरसङ्घर्षको प्रक्रियामा आफ्नो पराजय निश्चित देखिएपछि ओली गुटले संविधान नै खारेज गर्ने नियतका साथ प्रतिनिधि सभा विघटन गर्न पुग्यो, तब त्यो अस्वस्थ अन्तरसङ्घर्ष शत्रुतापूर्ण अन्तरसङ्घर्षमा बदलियो।

त्यस्तो, विषम परिस्थितिमा पनि पार्टी एकताको रक्षा गर्न ओलीका गलत विचार, प्रवृत्ति र कार्यशैली सच्याउन पार्टीले अन्तिमसम्म प्रयास गर्‍यो। तर, ओली गुट झन् पछि झन् पार्टी अनुशासनको खिल्ली उडाउँदै प्रतिगमनको यात्रामा अगाडि बढ्यो। त्यो परिस्थितिमा केन्द्रीय समितिको दुई तिहाइभन्दा बढीको बहुमतले उनलाई पार्टी सदस्यताबाट निष्कासित गर्‍यो भने संसदीय दलको बहुमतले उनलाई दल नेताबाट निष्कासन गर्‍यो।

आधिकारिक र वैधानिक रूपले गरिएको उपरोक्त निर्णयलाई तत्कालीन निर्वाचन आयोग र संसद् सचिवालयले जानीबुझी गरेको ऐन र नजिर विपरीतको क्रियाकलाप र अन्त्यमा अदालतको अस्वाभाविक राजनीतिक फैसलाका कारण पार्टी एकता असफल तुल्यायो।

तर, आज पनि ओली प्रवृत्तिको विरुद्धमा सङ्घर्ष गर्दै बृहत् कम्युनिष्ट एकताको आवश्यकता कायम नै छ। हाम्रो पार्टी अहिले पनि एकताको पक्षमा छ र रहिरहनेछ। विभिन्न माओवादी समूह र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी)सँग सहकार्य बढाउँदै जाने हाम्रो नीति स्पष्ट नै छ।