‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति’को तयारीमा प्रचण्ड - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति’को तयारीमा प्रचण्ड



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड अब प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको तयारी गरिरहेको बुझिएको छ । विगतमा नेकपा अध्यक्ष समेत रहेका केपी शर्मा ओलीसँग भएको आलोपालो प्रधानमन्त्री बन्ने सहमतिमा लचिलो भएर प्रस्तुत हुनुले पनि यसको सङ्केत गरेको छ ।

प्रचण्डले शनिबार विहान बाग्लुङ जानुअघि त्रिभुवन विमानस्थलमा, ‘संविधान संशोधन गरेर प्रत्यक्ष राष्ट्रपतिको प्रणालीमा जानुपर्छ ।’ भनेको रिपोर्टस नेपालले दाबी गरेको छ ।

प्रचण्डले देशमा स्थायी सरकारका लागि पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक रहेकोबारे बताएको उल्लेख छ ।

उनले यसपटक प्रधानमन्त्री ओलीसँग गरेको सहमतिमा संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाने विषय पनि रहेको बुझिएको छ ।

दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डले विगतमा पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको विषय उठाउँदै आएका थिए । प्रचण्डले प्रधानमन्त्री ओलीसँग यस विषयमा कुराकानी भएको खुलासा गरेको भन्दै रिपोर्टसले लेखेको छ ।

समाचारका अनुसार १५ जेठमा टेलिभिजनका लागि लिएको अन्तवार्तामा प्रचण्डले ओलीसँग आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको खुलाएका थिए । यसले राजनीतिक तरंग समेत ल्याएको थियो । प्रचण्डले पछिल्लो पटक नेकपाको अध्यक्षका रुपमा कार्यकारी अधिकार समेत पाएपछि आलोपालो सहमति इतिहास भइसकेको बताएका थिए ।

ओलीलाई पाँच वर्ष पूरा कार्यकाल सम्हाल्न दिने र यसै अवधिभित्र संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाने गरी प्रचण्ड अगाडि बढेका छन् । उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति बन्ने लक्ष्य लिएका छन् ।