तानातानमा प्रचण्ड- महासेठसँग ओलीले पठाएको सन्देश के थियो ? - Himal Post Himal Post
  • ३० भाद्र २०८१, आईतवार
  •      Sun Sep 15 2024
Logo

तानातानमा प्रचण्ड- महासेठसँग ओलीले पठाएको सन्देश के थियो ?



सत्ता समीकरणको रस्साकस्सी चलिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा राजनीतिक भेटघाट बाक्लो बनेको छ।

पछिल्लो परिणाम अनुसार निकै खुम्चिएको माओवादीका अध्यक्ष प्रचण्ड शक्तिकेन्द्र नै बनेका छन् । सोमबार नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले भेटेलगत्तै नेकपा एमालेका सचिव रघुवीर महासेठले पनि एमाले अध्यक्ष ओलीको सन्देश बोकेर प्रचण्ड निवासमा छिरेका थिए ।

ओलीको सन्देश लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई महासेठले भेटेर सरकार गठन र वाम एकताको विषयमा छलफल गरेको स्रोतको दाबी छ। त्यस्तै कांग्रेसका नेता कार्कीले पनि सरकार गठन र सत्ता गठबन्धनका विषयमा छलफल गरेका थिए ।

एमाले सचिव महासेठ भने आफूले निर्वाचनमा विजयी भएको भन्दै प्रचण्डलाई बधाई दिन गएको बताएका छन्। प्रचण्डको सचिवालयले यसअघि नै बधाई बोकेर खुमलटार नआउन उर्दी जारी गरिसकेको थियो ।

महासेठले खुमलटारमा ओलीको सन्देश बोकेर पुगेको स्रोतको दाबी छ । उनले नेकपा हुँदैदेखि प्रचण्डसँग निकटता रहेकाले आफू खुमलटार पुगेको बताएपनि सरकार एमालेभित्र वाम एकताको आगो भित्रभित्रै सल्किएको छ ।

पछिल्लो समय सरकार गठनलाई लिएर दलहरुबीच तानातान छ। यसअघि निर्वाचनलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए। त्यसपछि लगातार तानातानमा परेका प्रचण्डको निवास अहिले नेताहरू धाउने केन्द्र बनेको छ ।

निर्वाचन लगत्तै भएको फोनवार्तामा ओलीले अब मिलेर जान सकिने प्रस्ताव गरेको दाबी प्रचण्डको सचिवालयले गरेको थियो। तर प्रचण्डले ओलीलाई केही समय कुरेर अघि बढ्ने जवाफ त्यसबेला दिएका थिए।

सोमबारै कांग्रेस नेता कार्कीले सभापति शेरबहादुर देउवाको दूतका रुपमा प्रचण्डलाई भेटे। त्यसपछि बालुवाटारमा सत्ता गठबन्धन बैठक बसेको थियो ।