सापकोटालाई सभामुख बनाउनुमा प्रचण्डको यस्तो स्वार्थ - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

सापकोटालाई सभामुख बनाउनुमा प्रचण्डको यस्तो स्वार्थ



काठमाडौं- सभामुख चयनको विषयलाई लिएर सत्तारूढ दल नेकपामा देखिएको शक्तिसंघर्ष टुंगिएको छ।

नेकपा सचिवालय बैठकले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेसँगै प्रतिनिधिसभालाई सभामुखको चुनाव गराउने बाटो खुलेको छ।

सापकोटा नै किन ?

आजको कान्तिपुरमा बिनु सुवेदी लेख्छिन्– तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि पूर्वमाओवादी पक्षका धेरै नेताले सभामुखमा दाबी गरिरहेका थिए तर अध्यक्ष दाहालको पहिलो रोजाइ सापकोटा थिए।

उनले सापकोटालाई आगामी सभामुखका लागि तयारी अवस्थामा बस्नसमेत भनिसकेका थिए। ‘यसका पछाडि दुईवटा कारण छन्,’ दाहालनिकट स्रोत भन्छ, ‘एक, सापकोटा अध्यक्ष कमरेडको सबैभन्दा निकट पात्र हुन्, द्वन्द्वकालीन मुद्दाकै कारण पार्टीमा योगदान गरेका नेताहरू कहिलेसम्म पछि परिरहने भन्ने उहाँको भनाइ थियो।’

सापकोटालाई सभामुखमा अघि सारेर दाहाल द्वन्द्वका बेला भएका घटनालाई एउटा समझदारीमा टुंग्याउनुपर्छ भन्ने संकेत पनि दिन चाहन्थे । ‘यही पृष्ठभूमि बनाउन उहाँले टुँडिखेलबाटै सशस्त्र युद्धमा मारिएकामध्ये पाँच हजारको जिम्मेवारी लिन तयार छु भन्नुभएको हो,’ स्रोतको दाबी छ, ‘सशस्त्र संघर्षकालीन घटनाबाट अहिले शक्तिमा रहेका अधिकांश नेता अछुतो छैनन् भन्ने सन्देश उहाँले दिन चाहनुभएको हो।’

यिनै तयारीका कारण सभामुख चयनका बेला देखिएका संघर्ष र भएका वादविवादमा सापकोटा कतै सहभागी भएनन् । यसबीचमा भएको नेकपा स्थायी कमिटी बैठकमा समेत उनले सन्तुलित अभिव्यक्ति दिएका थिए। ०५२ मा सशस्त्र संघर्ष थालेर ०६२र६३ पछि शान्तिपूर्ण राजनीतिमा आएको माओवादी पक्षबाट सभामुख हुने सापकोटा तेस्रो नेता हुन् । यसअघि ओनसरी घर्तीमगर र कृष्णबहादुर महराले संसद्को नेतृत्व लिइसकेका छन्।

शिक्षकदेखि सभामुखसम्म

०१४ साल फागुन २४ गते सिन्धुपाल्चोकको कुविन्डेमा जन्मिएका सापकोटा ०३४ मा नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध भए । १५ वर्षको शिक्षण पेसाबाट ०४८ मा राजीनामा दिएर उनी पूर्णकालीन राजनीतिमा होमिएका हुन् । ०५२ देखि माओवादीको भूमिगत राजनीति थालेका उनले विभिन्न ब्युरोको नेतृत्व गरेका थिए । ०६२ चैत १४ मा सिन्धुपाल्चोकको ठोकर्पामा भएको सभामा सेनाले हानेको गोली लागेर घाइते भएका उनी ०६४ को संविधानसभा चुनावमा सिन्धुपाल्चोक २ बाट विजयी भएका थिए ।

त्यसपछिका दुईवटा चुनावमा पनि सापकोटा सिन्धुपाल्चोकबाटै विजयी भएका हुन् । सापकोटा ०६८ मा पहिलोपटक सूचना तथा सञ्चारमन्त्री भए भने ०७२ को सरकारमा वन तथा भूसंरक्षणमन्त्री भएका थिए । अहिले नेकपाको स्थायी कमिटी सदस्य रहेका उनी सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्य छन् । सशस्त्र संघर्षयता राजनीतिक हिसाबकिताब र दाउपेचमा अध्यक्ष दाहाललाई सघाउँदै आएका सापकोटाले अब नेकपाको स्थायी कमिटीबाट राजीनामा दिएर संसदीय अभ्यासमा तटस्थ भूमिका निभाउनुपर्नेछ ।