प्रचण्डमाथि खनिए प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापा - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

प्रचण्डमाथि खनिए प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापा



काठमाडौं- – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भैँसेपाटी र खुमलटार भेलाले तरंग सिर्जना गरेको छ । नेकपाका एक जना केन्द्रीय सदस्यले भैँसेपाटी र खुमलटारमा भएको भेलालाई गुटबन्दीको संज्ञा दिएका छन् ।

नेकपा केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टीमा गुटबन्दी झाङ्गिएको भन्दै आपत्ति जनाएका हुन् ।

थापाले अध्यक्ष प्रचण्डले गोप्य भेला गरेर नेकपाभित्र गुटबन्दी चलाएको बताएका छन् । गत २३ पुसमा बामदेव गौतम निवास भैँसेपाटीमा प्रचण्डले गरेको भेलाप्रति सङ्केत गर्दै उनले यस्तो बताएका हुन् ।

गत बुधबारदेखि जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक समुह छलफलको क्रममा अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि शुक्रबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २९ बुँदे लिखित सुझाव पेश गर्दै उनले आपत्ति जनाएका हुन् ।

‘पार्टीमा गुटबन्दी फस्टाएको, अनुशासनहीनता, अराजकता प्रदर्शन र स्वार्थ प्रेरित बैठकहरु किन भएका छन् ?’ प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका थापाले भनेका छन्, ‘भैँसेपाटी, खुमलटार वा अन्यत्र यस्ता बैठक किन भइरहेका छन् ? मूल नेतृत्वलाई घेराबन्दी र असफल पार्ने गरी अनुचित क्रियाकलापहरू गरिनु हुँदैन ।’

उक्त सुझावमा थापाले अमेरिकी सहयोग एमसिसीप्रति तथ्यहीन, गलत र उत्ताउलो दुष्प्रचार गरिएको उल्लेख गरे । यो आवधिक र परियोजना केन्द्रित अनुदान सम्झौता भएकाले सैनिक गठबन्धनको अङ्ग भन्दै अनधिकृत टिप्पणी गरी भ्रम सिर्जना गरेको उनको भनाइ छ ।

‘अमेरिकाको सैन्य गठबन्धन नाटो मात्रै हो । इन्डो–प्यासिफिक स्ट्राटेजीको अङ्ग वा सैन्य गठबन्धन होइन भनेर स्वयम् एमसिसी र अमेरिकी दुतावासका तर्फबाट औपचारिक वक्तव्यमार्फत तथ्य स्पष्ट गरिसकेपछि किन अन्यथा र द्विविधाजनक कुरा गर्ने ?’ थापाले पेश गरेको सुझावमा उल्लेख छ ।

थापाले जनयुद्ध र जनआन्दोलनको क्रम नमिलेको भन्दै जनआन्दोलन र जनयुद्धका… भन्ने गरी उल्लेख गर्नुपर्ने सुझाव राखेका छन् । बुधबार प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकारको कामको सन्दर्भमा रहेका नकारात्मक टिप्पणी गलत रहेको उनले जनाएका छन् ।

बुधबार प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनको ‘अन्तर्राष्ट्रिय परिस्थितिका सङ्केत र हाम्रो दायित्व’ नामक २ नम्बर उपशीर्षकमा ‘….चीनलाई घेरा हाल्ने….’ भन्ने वाक्यांशप्रति थापाले आपत्ति जनाएका छन् । ‘यस्ता विवादास्पद वाक्य प्रयोग गर्नु हुँदैन’ थापाले भनेका छन् ।

यसैगरी सार्वजनिक कार्यक्रमदेखि पार्टीका ठूला बैठकसम्म प्रयोग हुने भाषामा समानता र एकरूपता हुनपर्ने सुझाव थापाले दिएका छन् । ‘केन्द्रीय कमिटी’, ‘केन्द्रीय समिति’ भनेर दुई वटै प्रयोग नगरी एउटै र विधानबमोजिमको शब्दावली प्रयोग गरिनु पर्दछ,’ उनले सुझावमा समेटेका छन् ।