प्रचण्डको सुकुटे यात्राको रहस्य : राजनीतिक छलाङको सङ्केत - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रचण्डको सुकुटे यात्राको रहस्य : राजनीतिक छलाङको सङ्केत



काठमाडौँ -नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।

उनी आराम गर्ने भन्दै पटक पटक सुकुटे जाने गर्दछन् । तर जति बेला प्रचण्ड सुकुटे जान्छन् राजनीतिमा एक खालको तरङ्ग पैदा गर्छन् । पार्टीको महत्त्वपूर्ण निर्णय गर्ने बेला प्रचण्ड सुकुटे बिच जाने र राजनीतिमा कुनै न कुनै खाले छलाङ मार्ने गरेका छन् । सधैँ परिवारसँग मात्र सुकुटे जाने प्रचण्ड यो पटक भने सांसद अग्नि सापकोटासमेत लिएर पुगेका छन् ।

बिहीबार नेकपा अध्यक्ष प्रचण्ड, उनकी पत्नी सीता दाहाल र अग्नि सापकोटा सुकुटे पुगेको श्रोतले जनाएको छ । आज र भोलि सुकुटेमै बस्ने पनि बताइएको छ ।

प्रचण्ड एकाएक सुकुटे पुगेपछि नेकपाभित्रै पनि आशङ्काको पहाड खडा भएको छ । एक श्रोतका अनुसार प्रचण्ड, केपी शर्मा लगायतका नेकपाका नेताहरूको चन्द्रागिरी बसाइपछि प्रचण्ड त्यति फ्रेस नभएको बताइएको छ । वैशाख ९ गते पार्टीको एकता प्रक्रियाको नयाँ गन्तव्य तयार गर्ने तयारी भइरहेको बेला उनी एकाएक सुकुटे जानुले फरक अर्थ राखेको छ ।

चन्द्रागिरिको विशेष छलफल पछाडि प्रचण्ड पहिला भन्दा केही गम्भीर हुने गरेको पनि श्रोतले जनाएको छ । नेकपाका एक नेताका अनुसार चन्द्रागिरी बसाई पछि प्रचण्डले पूर्व माओवादीका केही नेताहरूसँग छलफल पनि गरेका थिए, छलफलमा प्रचण्डले सरकार सञ्चालन राम्रो ढङ्गबाट नभएको र एकता प्रक्रियामा पेलिएको बताएका थिए ।