निर्वाचनपछि माओवादीलाई दोस्रो ठूलो दल बनाउने ध्याउन्नमा प्रचण्ड - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

निर्वाचनपछि माओवादीलाई दोस्रो ठूलो दल बनाउने ध्याउन्नमा प्रचण्ड



२०७४ सालको आम निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरेर कांग्रेसलाई हराउन सफल प्रचण्ड यतिबेला कांग्रेससँगको तालमेलमार्फत एमालेलाई हराउने रणनीति अख्तियार गरेका छन् ।

२०७९ सालमा हुने तीनै तहको निर्वाचनमा कांग्रेस, समाजवादी र जसपासँग तालमेल गरेर कांग्रेसपछाडिको दोस्रो शक्ति बन्ने रणनीति यतिबेला प्रचण्डले अख्तियार गरेका छन् ।

पहिलो शक्ति नबनेपनि आफू सधैं निर्णायक रहने प्रचण्डको यसअघिदेखिकै रणनीति हो । चुनावमा प्रत्यक्षतर्फ ५ देखि ७ सीटमा एमालेलाई समेट्ने देउवा, प्रचण्ड र एकीकृत समाज्वादीका अध्यक्ष माधवकुमार नेपालबीच सहमति भएको छ । आफ्नो अनुकूलता मिलाउन निर्वाचन ऐन नै संशोधन गरेर स्थानीय निर्वाचनलाई पछि धकेल्ने तयारीमा गठबन्धन रहेको छ ।

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुशल नेता मात्र होइनन् कुशल रणनीतिकार पनि हुन् । उनले जस्तोसुकै कठिन परिस्थितिमा पनि रणनीतिक चार्तुयताबाट शक्ति आर्जन गर्दै आएका छन् ।

२०५२ सालमा सानो समूहको नेतृत्व गर्दै जनयुद्धको घोषणा गरी बढेका प्रचण्डले एक दशकमै आफूलाई शक्तिशाली शक्तिका रुपमा उभ्याए । माओवादी जनयुद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गर्न सफल मात्र भएनन् आफ्नो एजेन्डा पूरा गर्न समेत सके ।

संघीयता, गणतन्त्र र धर्मनीरपेक्ष माओवादीकै एजेन्डा थियो । नेपाली काँग्रेस र नेकपा एमाले जस्ता दलहरुलाई संघीयता, गणतन्त्र र धर्मनीरपेक्षको पक्षमा लाग्न वाध्य पार्ने प्रचण्ड नै थिए । यसमा पनि उनको रणनीतिक चार्तुयताले भूमिका खेलेको थियो । १२ बुँदे सहमतिमै प्रचण्डले गणतन्त्र उल्लेख गर्न खोजेका थिए जुन सफल भएन । तर, उनले संविधानसभामार्फत् गणतन्त्रलाई सफल बनाइछाडे ।

काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेलामा प्रचण्डका कारण देश अहिलेको परिवर्तनमा आएको बताएका छन् । यसले पनि प्रचण्डले नै अहिलेको परिवर्तनको जस लिइरहेका छन् । व्यवस्था परिवर्तन गरी अहिलेको व्यवस्था ल्याउन प्रचण्डले कहिले कुन शक्ति त कहिले कुन शक्तिसँग सामिप्यता राख्दै अर्को शक्तिलाई भिडाउन सके ।

पहिलो संविधानसभाको चुनावमा माओवादीले महत्वपूर्ण सफलता हासिल गर्दा पनि प्रचण्डको रणनीतिक चार्तुयताले काम गरेको थियो । त्यसपछि प्रचण्डको सत्तामा एकछत्र प्रभाव बनाउने महत्वाकांक्षाले समस्यामा पार्यो । संविधान जारी हुन सकेन । दोस्रो संविधानसभामा देश गयो ।

दोस्रो संविधानसभाको निर्वाचनमा प्रचण्ड नेतृत्वको नेकपा माओवादी तेस्रो स्थानमा झर्यो । त्यतिबेलासम्म माओवादी फुटिसकेको थियो । त्यसपछि संसदीय राजनीतिको खेलहरुमा प्रचण्ड अभ्यस्त हुनथाले । उनले स्थानीय चुनावमा नेपाली काँग्रेससँग केही स्थानमा तालमेल गरी चुनावी फाइदा लिन सके । भरतपुर महानगरपालिकामा रेनु दाहाल जित्नुमा काँग्रेसको साथ थियो ।

तर, प्रचण्डले फेरि रणनीतिक चार्तुयता देखाए । नेकपा एमालेसँग चुनावी तालमेल गरे । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई जिल्याइदिए । ओलीसँग प्रचण्डको तालमेलका कारण माओवादीले महत्वपूर्ण चुनावी सफलता हासिल गर्न सक्यो । एमालेसँग माओवादीलाई एक बनाए । तर, ओलीसँगको खटपटले नयाँ राजनीतिक घटना विकास भयो ।

प्रचण्ड ओलीको पेलाईले निकै कमजोर भइसकेका थिए । उनले देउवा र माधव नेपाललाई आश्वस्त पारेर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सके । देउवालाई प्रधानमन्त्री बनाएर भएपनि ओलीलाई धक्का दिन सके । पाँच दलीय गठबन्धनबाट प्रचण्डले एकपछि अर्को लाभ लिदै शक्ति सञ्चय गरिरहेका छन् ।

स्थानीय निर्वाचन र प्रतिनिधि सभा निर्वाचनको नयाँ बहस छेडिएको छ । प्रचण्डले स्थानीय निर्वाचन भन्दा पहिले प्रतिनिधि सभा चुनाव गर्ने प्रस्ताव गरेका छन् । उनी प्रतिनिधि सभा चुनावमा काँग्रेसहित ५ दलसँग गठबन्धन गरेर बढ्न यस्तो रणनीति चालिरहेका छन् । अर्कोतर्फ, चुनाव केही महिना पछि धकेल्ने प्रयासका रुपमा पनि यसलाई हेरिएको छ ।

स्थानीय चुनावमा तालमेलको सम्भावना नहुने र त्यसले प्रतिनिधि सभा चुनावमा असर गर्न सक्ने भएकाले प्रचण्ड संसदको चुनाव पहिले गर्ने पक्षमा छन् । अर्कोतर्फ, चुनाव केही पर धकेलेर शक्ति सञ्चय गर्ने प्रयास पनि हुनसक्छ । लामो समय सत्ताबाट बाहिर हुँदा एमालेलाई ठूलो असर पर्न सक्छ । अर्कोतर्फ, समय पाउन सके प्रचण्ड पूर्वमाओवादी देखि माधवकुमार नेपाल समेतलाई मिलाएर चुनावमा जाने समय पाउन सक्छन् ।

पछिल्लो समय प्रचण्डले देउवाको माध्यमले ओलीलाई कमजोर पार्न खोजिरहेका छन् । विगतमा उनले ओलीमार्फत् देउवालाई धक्का दिएका थिए । प्रचण्ड पहिलो र दोस्रो. ठूलो शक्तिबीचको द्वन्द्वबाट भरपूर फाइदा लिइरहेका छन् । देउवाको माध्यमले अबको तीन तहको चुनावमा बाजी मार्न खोजिरहेका छन् ।