शालिक अनावरण काण्ड: आफ्नै पार्टीभित्र प्रचण्डको कडा आलोचना - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

शालिक अनावरण काण्ड: आफ्नै पार्टीभित्र प्रचण्डको कडा आलोचना



काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना छोरा प्रकाश दाहालको शालिक अनावरण गरेको विषयले चर्को आलोचना भैरहेको छ । सामाजिक संजालमा उनको उछितो काडिएको छ । आफ्नै पार्टीभित्र समेत प्रचण्ड आलोचित बनेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले समेत प्रचण्डलाई व्यंग्य गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । प्रचण्डले छोरा प्रकाशको शालिक आफ्नो आग्रहमा बनाइएको होइन भनेर स्पष्टीकरण दिएपनि नेता कार्यकर्ताले उनको कडा आलोचना गरिरहेका छन्।

न्यौपानेले माओत्सेतुङको प्रसंग जोडेर प्रचण्डमाथि व्यंग्य गरेका छन्। केन्द्रीय सदस्य न्यौपानेले विषय नखुलाई घुमाउरो तरिकाले कटाक्ष गरेका हुन्। न्यौपानेका अनुसार ५ लाख चिनियाँ स्वयंसेवक कोरियाली जनतालाई सघाउन कोरिया गएका थिए, तीमध्ये एक थिए– माओका जेठा छोरा माओ आनइङ। कोरिया युद्ध (१९५०–१९५३) मा ३० हजारभन्दा बढी चिनियाँ स्वयंसेवक अमेरिकी आक्रमणमा मारिए, तीमध्ये आनइङ पनि १९५० नोभेम्बर २५ मा मारिए। छोरो सहिद भएको खबर माओले बुहारीलाई सुनाए, त्यसबेला उनको काखमा सानो बच्चा (माओको नाति) थियो।

माओको बुहारीले ‘अब जिउँदो पति देख्न नपाए पनि शवको अनुहार अन्तिमपटक हेर्ने इच्छा छ’ भनिन्।

‘त्यसपछि माओेले बुहारीलाई भने– तिम्रो पति मात्र होइन, अरू ३० हजार चिनियाँ योद्धाहरू कोरियामा मारिएका छन्। ती सबैको शव चीन ल्याउनुपर्छ, जुन सम्भव नै छैन’, न्यौपानेले माओवादी भनाइ जोड्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसकारण हाम्रो छोराको मात्र शव ल्याउन मिल्दैन। हाम्रो छोराको मात्र शव ल्याउने र अरूको नल्याउने हो भने जसजसका परिवारबाट कोरियामा सहिद भए उहाँहरूले हाम्रो पार्टी, आन्दोलन र नेतृत्वप्रति कहिल्यै विश्वास गर्दैनन्।’त्यसपछि पति वियोगमा परेकी माओकी बुहारीले माओको कुरामा चित्त बुझाएको न्यौपानेले उल्लेख गरेका छन्।

‘यसकारण माओ, माओ बने। आजसम्म त्यसरी नै बाँचिरहेका छन्। आज पनि उनलाई सम्पूर्ण चिनियाँहरूले हृदय (चाकरी गर्न होइन) देखि सम्मान गर्छन्’, न्यौपानेले लेखेका छन्, ‘दैनिक ६५ हजार चिनियाँ युवाहरू माओको शाओशान गाउँको घर (संग्रहालयं) अवलोकन गर्छन् र हाम्रो महान् नेता भनेर गर्वले छाती चौडा बनाउँछन्।’

स्टाटसका साथमा न्यौपानेले माओका बाउ-छोराको तस्बिरसमेत सेयर गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले असार १७ गते नुवाकोटको ककनीमा आफ्ना छोरा साकार दाहाल ‘प्रकाश’को शालिक अनावरण गरेका थिए।