माओवादीमा अचम्म: प्रचण्ड र शक्ति बस्नेतलाई बराबर भाग - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

माओवादीमा अचम्म: प्रचण्ड र शक्ति बस्नेतलाई बराबर भाग



काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले आफूलाई पार्टीको केन्द्रीय सदस्यमा स्वघोषणा गरेका छन् । साथै उनले आफ्नो परिवारका थप तीन सदस्यलाई पार्टीको केन्द्रीय समितिमा राखेका छन् ।

पार्टी महाधिवेशनको अन्तिम दिन आज प्रचण्डले बन्दसत्रमा २३६ जना केन्द्रीय सदस्यहरुको नामावली प्रस्तुत गरेका थिए । त्यसमा उनले खुल्लातर्फ आफ्नो नाम २३ औं नम्बरमा राखेका छन् ।

३५ वर्षदेखि पार्टीको प्रमुख रहेका प्रचण्ड अर्को कम्तिमा ५ वर्षका लागि सोमवार अध्यक्ष चयन हुने निश्चित छ । कम्युनिस्ट पार्टीको इतिहासमा निरन्तर ४० वर्ष नेतृत्व गर्ने अवसर प्रचण्डले पाएका छन् ।

माओवादी केन्द्रीय समितिमा प्रचण्डका भाई नारायण दाहाल, छोरी रेनु दाहाल र बुहारी विना मगर (दाहाल) समेत चयन भएका छन् । नारायण दाहाल खस आर्यतर्फ एक नम्बरमा परेका छन् ।

त्यस्तै रेनु खसआर्य महिला कोटाबाट केन्द्रीय सदस्य चयन भएकी छन् भने कान्छी बुहारी बिना आदिवासी जनजाति महिलाबाट केन्द्रीय समितिमा समेटिएकी छन् ।

शक्ति बस्नेतलाई पनि प्रचण्डकै जति भाग

केन्द्रीय समितिमा प्रचण्डसहित अधिकांश नेताका नातेदारहरूलाई पनि भाग छुट्टयाइएको छ । सबैभन्दा रोचक त के छ भने पूर्वमन्त्री शक्ति बस्नेतले पनि प्रचण्डले जत्ति नै भाग पाएका छन् । उनको पनि आफ्ना परिवारबाट चार जना केन्द्रीय सदस्य चुनिएका छन् ।

शक्तिबहादुर बस्नेत र उनकी पत्नी सत्या पहाडीसँगै बस्नेतकी बहिनी ज्ञानु बस्नेत र ज्वाँइ सूर्य सुवेदी पनि केन्द्रीय सदस्य चुनिएका छन्।

त्यस्तै वर्षमान पुन र उनकी पत्नी ओनसरी घर्तीमगर तथा बहिनी लालकुमारी पुन पनि केन्द्रीय सदस्य चयन भएका छन्।