प्रचण्ड भन्छन् - मङ्गलबार बेलुकी पार्टी एकताको सबै काम सकिन्छ - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

प्रचण्ड भन्छन् – मङ्गलबार बेलुकी पार्टी एकताको सबै काम सकिन्छ



हिमालपोस्ट/काठमाडौँ –

मङ्गलबार बेलुकीसम्म पार्टी एकताका सबै काम टुङ्ग्याउने सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।

मङ्गलबार ललितपुरमा जिल्ला कमिटीलाई सपथ खुवाउँदै प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीले असार मसान्तभित्र पार्टी एकताको काम टुङ्ग्याउने भनेअनुसार आज बेलुकीसम्म सबै काम सकिने बताए।

प्रचण्डले भने अनुसार कार्यविभाजन, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्, विशेष कमिटी र विभागहरू गठन गर्ने काम आज साँझसम्म सकिनेछ।

प्रचण्डले भने, ‘आज बेलुकीसम्म पार्टी एकताका काम टुङ्ग्याउँछौँ। यो कार्यक्रम लगत्तै म पार्टी बैठकमा जान्छु। मूलभूत कुराहरू सकिएको छ। खाली ठाउँ भर्न मात्रै बाँकी छ।’

केन्द्रीय समिति बैठक पनि छिट्टै बस्ने र  एकताका सम्पूर्ण काम सचिवालय बैठक हुँदै केन्द्रीय समितिबाट अनुमोदन गरेपछि देशव्यापी अभियान चलाउँदै जनतासामु जाने उनले बताए।

उनले भने, ‘पार्टी कमिटी र जनतासँग सम्बन्ध सुदृढ बनाउन देशैभर अभियानमा जान्छौँ। पार्टी एकताको काम तीन महिनामा सक्ने भनिएको थियो। ढिला भएकै हो तर काम फत्ते गरेका छौँ।’