प्रचण्डले भने: राजा नै ठिक रहेछन - Himal Post Himal Post
  • २६ मंसिर २०८१, बुधबार
  •      Wed Dec 11 2024
Logo

प्रचण्डले भने: राजा नै ठिक रहेछन



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको बताएका छन् । केहि सञ्चारमाध्यमका सम्पादकहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी ओलीसंग निकै आक्रामक देखिएका प्रचण्डको यो अभिव्यक्ति अहिले चर्चामा छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारीका कारण राष्ट्रपति संस्थाको इज्जत, मान र प्रतिष्ठा गुमेको समेत बताए ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संकेत गर्दै यस्तो भन्दा त राजाकै प्रतिष्ठा रहेको बताए । ‘राष्ट्रपति संविधानको संरक्षक हुनेछ भनेर भनिएको छ। तर प्रधानमन्त्रीले जे भन्यो त्यो मात्र खुरुखुरु गरेको छ। यो भन्दा त राजा हुँदा नै बढी शान थियो। अहिले शान पनि छैन, मान पनि छैन र इज्जत पनि छैन,’ प्रचण्डले भने।

गठबन्धनका सम्बन्धमा उठेका जिज्ञासामा समेत प्रचण्डले केपी ओली र आफूहरूमा निकै फरक भएको बताएका थिए । उनले ओली र आफूहरूलाई एउटै नजरले नहेरिदीन आग्रह समेत गरेका थिए ।

एउटा प्रधानमन्त्री बनाउन र एउटा हटाउनकै लागि मात्रै गठबन्धन नबनेको प्रचण्डले जिकिर गरे । ‘यो संघर्ष संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको हो। सिस्टम बचाउने वा नबचाउने भन्ने लडाइँ हो। यसमा पाँचै दलमा समझदारी बनेको छ। यो प्रधानमन्त्रीका निम्ति भएको संघर्ष होइन,’उनले भने ।