प्रचण्डले भने- कांग्रेसको दु:खमा मल्हमपट्टी गर्ने मन छ - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

प्रचण्डले भने- कांग्रेसको दु:खमा मल्हमपट्टी गर्ने मन छ



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गोरखा आगमनलाई ठूलो चुनौती र अवसरको रूपमा लिएको बताएका छन् ।

बिहीबार काठमाण्डुमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले गोरखा जिल्लाको इतिहास, राष्ट्र एकताको बचाइरहने र राजनैतिक परिवर्तन र प्रगतिको सन्दर्भमा गोरखा जिल्लाको ऐतिहासिक भूमिका उजागर पार्नुपर्ने चुनौती रहेको बताएका हुन् ।

गोरखाली जनताले आफूलाई नेपालको राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनसहित समृद्ध गर्ने अवसर प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताए । अध्यक्ष दाहालले गोरखाको विकासको लागि सबै राजनीतिक दलहरू एकत्रित भएर काम गर्न आवश्यक रहेको समेत बताए ।

उनले गठबन्धनले गोरखामा असाधारण तरिकाले जित्यो भन्ने कुरा सावित गर्न सक्नुपर्ने बताए । अध्यक्ष दाहालले आगामी चुनावमा अभुतपूर्व रूपमा परिणाम निकाल्ने गरी चुनावमा लाग्न पनि नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए ।

त्यस्तै प्रचण्डले भने,माओवादी आन्दोलनका क्रममा पीडामा परेका कांग्रेसका परिवार, क्षति भोगेका र ठूलो पीडामा परेकालाई भेटेर मल्हमपट्टी लगाउन चाहन्छु । ती परिवारलाई भेटेर शान्ति प्रक्रियाको महत्व बुझाउनेछु र गिरिजाबाबुसमेतको भावनालाई कदर गर्दै म उहाँहरूसँग कुरा गर्छु ।

अध्यक्ष प्रचण्डले ती पीडित परिवारलाई भेट्ने वातावरण बनाइदिन आफूले कांग्रेस नेताहरूलाई आग्रह गरेको बताए ।