प्रचण्ड भन्छन: सीले नेपालका कम्युनिस्टको संस्कार छैन, अराजक छन् भनेझैं लाग्यो - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

प्रचण्ड भन्छन: सीले नेपालका कम्युनिस्टको संस्कार छैन, अराजक छन् भनेझैं लाग्यो



काठमाडौं । बिहीबार चितवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका नेता कार्यकर्तासंग प्रचण्डले चिनियाँ राष्ट्रपतिसँग भएको कुुराकानी गर्दै थिए । जब उनले कुरा गर्दै गए कार्यकर्ता पनि छक्क परे।

प्रचण्डले भनेका छन् चिनियाँ राष्ट्रपति सी चिनफिङले नेकपाकै नेताहरूसंग त्यहाँका अनुभव साट्दा हामीलाई गिज्याएर तिमीहरूको संस्कार नै छैन भनेजस्तो महसुस भयो। नेता र कार्यकर्ता कस्तो हुनुपर्छ भनेर त्यहाँको अनुभव बताउँदा प्रचण्डले यस्तो महसुस गरेका थिए।

नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुलाई सामुहिक भेटघाटमा भनेका थिए ‘शासन सञ्चालन गर्न कम्युनिस्ट पार्टीले पहिले आफूभित्र नै स्वच्छता र सुशासनमा ध्यान दिनुपर्छ । यो हाम्रो अनुभव हो ।’ पार्टीमा छलफल गरेर निर्णय भएपछि नौ करोड पार्टी सदस्यले कार्यान्वयन गर्ने वातावरण बनाएका छौं । अनि, सिंगै पार्टी जनताको सेवामा खटिएको छ । यदि प्रत्येक पार्टी सदस्य जनताको सेवामा खट्ने वातावरण बनाउन नसकेको भए एक अर्ब ६० करोड जनतालाई खुसी, सन्तुष्ट बनाएर राख्न सम्भव थियो त ?

राष्ट्रपति सीले यसो भनिरहँदा आफूलाई ‘नेकपाका नेता कार्यकर्तालाई तिमीहरु स्वार्थी छौं, अराजक छौं’ भने झै लागेको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

चिनियाँ नेताहरुले आफ्नो उदाहरण भन्दै गर्दा आफूलाई चाहिँ आलोचना गरेको जस्तो महसुस भएको भन्दै प्रचण्डले भने, ‘मैले त्यहाँ केही भनिनँ, भन्ने कुरा पनि भएन । तर हाम्रो त ८/९ लाख पार्टी सदस्यलाई नियन्त्रण गर्न नसकेर जसलाई जे मन लाग्यो त्यही गर्ने, जसलाई जे मन लाग्यो त्यही भन्ने भइराखेको छ । ३ करोड जनतालाई पनि खुसी पार्न सकेका छैनौं । उहाँ (राष्ट्रपति सी)ले हामीलाई तिमीहरु अराजक छौं भनेको हो कि जस्तो लाग्यो ।

यद्यपि चिनियाँ राष्ट्रपतिले चीनमा आफूहरुले कसरी काम गरेको छ भन्ने मात्र सुनााएको प्रचण्डले बताए । राम्रो भएको छ, पार्टी एकता गरेर ठूलो काम गर्नुभयो । तपाईंहरु ठूलो राजनेता हो भनेर आफूहरुको प्रशंसा गरेको उनले सुनाए ।

प्रचण्ड भन्छन्, ‘तर उहाँले आफ्नोबारे कुरा गर्दै गर्दा नेकपा सदस्यहरुको आलोचना गरेको हो कि जस्तो । नेकपाका नेता कार्यकर्तालाई तिमीहरु स्वार्थी छौं, अराजक छौं, तिमीहरु आफ्नो गुटको अनुशासन मान्छौ, पार्टी अनुशासन मान्दैनौं । पार्टीले निर्णय एउटा गर्छ, व्यवहार अर्कै गर्छौं । भनेको जस्तो ।’

नेकपामा समस्या भए पनि त्यो क्यान्सर नभइ ग्यास्टिक जस्तो भएकाले त्यसको उपचार सम्भव रहेको प्रचण्डले बताए । ‘बिग्रेर काम नलाग्ने भइसकेको होइन । धुलोमैलो लागेको छ’ भन्दै उनले आफ्नो समीक्षा गर्न आग्रह गरे ।

‘पञ्चायतकालमा भूमिगत भएर संघर्ष गर्दा कस्तो थिएँ, ०४६ पछि कस्तो भएँ । जनयुद्ध र जनआन्दोलनको बेला कस्तो थिएँ, गणतन्त्र आएपछि र नेकपा देशकै ठूलो पार्टी भएपछि कस्तो भएँ र के सोच्न थालेको छु भनेर हेर्‍यो भने पुग्छ’ उनले भने ।

आफूहरु राजनीतिक जीवनको उत्तरार्धतिर आइपुगेको भन्दै प्रचण्डले नेकपालाई कम्युनिस्ट पार्टी जस्तो बनाउन एक पटक आन्दोलन गर्ने इच्छा रहेको बताए ।