देश संकटमा जानेबारे प्रचण्डको खुलासा - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

देश संकटमा जानेबारे प्रचण्डको खुलासा



काठमाडौं -सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासका नयाँ मोडलको खोजी गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा फस्ने चेतावनी पनि दिए ।

मंगलबार ललितपुरमा सुरु भएको ‘अन्तरराष्ट्रिय प्राङ्गारिक कृषि सम्मेलन’लाई सम्बोधन गर्दै उनले संविधानको मर्म र भावना अनुकूल विकासको नयाँ मोडल खोजी गर्न सम्बन्धित सबै पक्षलाई आह्वान पनि गरे ।

नयाँ राजनीतिक प्रणालीलाई स्थापित गराउने गरी हाम्रा कार्यशैलीहरुमा परिवर्तन नभए त्यो प्रत्यूत्पादक हुने अध्यक्ष प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले जलवायु परिवर्तन र विकासको मोडेलका कारण मानव जातिले धेरै समस्या भोगेको बताउँदै समस्या समाधान गर्न बहस फलदायी हुने उल्लेख गरे ।

उनले भने, ‘यसरी विकासलाई सही दिशा दिन सकिँदैन । राजनीतिक स्थायित्वसँगै विकासको मोडेल त्यसलाई सञ्चालन गर्ने विधि सही भएन भने विकास सही बाटोमा जाँदैन ।’

आधुनिक खेती गर्ने भने पनि दिनप्रतिदिन आयातमुखी हुनथालेकोले यसको समीक्षा गर्ने बेला भएको उनको भनाइ छ । उनले अगाडि भने, ‘अर्बौँको कागती मात्र किन आयात गर्नुपर्ने परिस्थितिको सृजना कसले गर्यो, कुन राजनीतिक प्रणालीले गर्यो त्यसको समीक्षा गर्ने उपयुक्त बेला आएको छ ।’

अध्यक्ष प्रचण्डले प्रकृतिको दोहन नगर्ने विकासको मोडेलतिर जान चाहेको समेत खुलाए । उनले आफूलाई पनि राजनीति गरिसकेपछि प्रांगारिक खेतीमा जान मनलागेको बताए । तर जनताले त्यता जान नदिने भन्दै ठट्टा समेत गरेका थिए ।

दुई दिनसम्म चल्ने सो सम्मेलनमा भारत, भुटान, क्युवालगायतका मुलुकहरु सहभागी भएका छन् ।