माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै, प्रचण्डलाई अफ्ठ्यारोमा पार्ने तयारी - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै, प्रचण्डलाई अफ्ठ्यारोमा पार्ने तयारी



काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै छ । राष्ट्रिय सभागृहमा बिहान ११ बजेपछि बस्ने बैठकमा मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी), सत्ता गठबन्धनलगायत सामसामयिक विषयमाथि छलफल हुने नेताहरूले बताएका छन् । नेता दिनानाथ शर्माका अनुसार बैठकमा आगामी निर्वाचनको रणनीतिबारे पनि छलफल हुने छ ।

एमसीसीलाई लिएर माओवादीभित्र एउटा समूह अध्यक्ष प्रचण्डप्रति असन्तुष्ट छ । प्रधानमन्त्री शेरबहादुर देउवासित मिलेर एमसीसीलाई पठाएको पत्र, त्यसपछि बिनासंशोधन एमसीसी सम्झौता अनुमोदन नगर्ने अडान, पार्टीको निर्णय र पछि व्याख्यात्मक घोषणा गरी एमसीसीका पक्षमा उभिएकोप्रति नारायणकाजी श्रेष्ठसहित केही नेताले केन्द्रीय समितिमा कुरा उठाउने तयारी गरेका छन् । स्राेतका अनुसार नेता श्रेष्ठले बैठकमा लिखित दस्तावेज पेस गर्ने तयारी गरेका छन् ।

३० साउनमा बसेको माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पार्टीभित्र आफैँ सुध्रिएर मात्र पार्टी बन्ने भन्ने तर्कसहित सम्बोधन गरेका थिए । उक्त सम्बोधनले पार्टी सुधारका लागि महत्त्वपूर्ण भूमिका खेल्ने निर्णय गरेको थियो । त्यसलाई व्यवस्थित गरेर पुसको महाधिवेशनमा प्रचण्डले आत्मालाेचनासहित राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

तर, अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्ने निर्णयमा प्रचण्डको भूमिकाले व्यवहारमा सुधार नआएको र आउने सम्भावना नरहेको निचोड पनि श्रेष्ठ समूहको छ ।

श्रेष्ठ समूहका एक नेताको भनाइमा लिखित दस्तावेजको अलवा एमसीसी प्रकरणमा अध्यक्षले आत्मसुरक्षावादी निर्णय लिएको र यसले राष्ट्रहितमा दीर्घकालीन असर पुग्ने भएकाले महाधिवेशनको निर्णयविपरीत गएकाे भन्दै अनुशासन उल्लंघनको आरोप अध्यक्षमाथि लगाउने तयारी छ ।

माओवादीले केन्द्रीय समिति बैठक २५ पुसयता पटक–पटक सार्दै आएको छ । अन्तिमपल्ट फागुन ८ र ९ गतेका लागि आयोजना गरिएको बैठक स्थगित गरी २० फागुनका लागि तय गरिएकाे थियाे ।