कांग्रेसको साथ छोडेपछि प्रचण्डलाई झन् बढी समर्थन - Himal Post Himal Post
  • १६ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 28 2025
Logo

कांग्रेसको साथ छोडेपछि प्रचण्डलाई झन् बढी समर्थन



काठमाडौं- सत्ता गठबन्धन छोडेपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झन् बढी समर्थन जुटेको छ । कांग्रेससँग मिल्दा १ सय ३८ जना संसद्को साथ् पाएका प्रचण्ड एमालेसँग गठबन्धन गरेपछि १ सय ६६ सांसदले समर्थन गरेका छन् ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर राष्ट्रपतिको कार्यालय शीतलनिवास जाने तयारी गरिएको छ ।

नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरू शीतलनिवास जान लागेका हुन् । प्रचण्डले ती दलका सांसदको समर्थन जुटाएको बताइएको छ ।

एमालेको ७८ सिट, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्तिको चार सिट गरी १६६ सांसदको समर्थन लिएर प्रचण्ड शीतलनिवास जान लागेका हुन् ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर आफूहरू शीतलनिवास जान लागेको जानकारी दिए । “अब हामी प्रस्ताव लिएर राष्ट्रपति भेट्न शीतल निवास जाँदै छौँ,” गुरुङले भने ।