प्रचण्डले प्रभाकरलाई महासचिव बनाउने सूचना पाएपछि चीनबाटै बिच्किए अनन्त - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

प्रचण्डले प्रभाकरलाई महासचिव बनाउने सूचना पाएपछि चीनबाटै बिच्किए अनन्त



नेकपा माओवादी केन्द्रको महाधिवेशन काठमाडौंमा जारी छ । माओवादीको आठौँ महाधिवेशनको बन्दसत्र चलिरहेको बेला पार्टीका नेता वर्षमान पुनले भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि दवाव बढाएका छन् । रोचक त के छ भने चीनमा उपचार गराईरहेका कारण महाधिवेशनमा आउन नसकेका उनले चीनका मन्त्रीलाई भेटे ।

आफू अस्वस्थ भएकाले नेपाल आउन नसकेका उनले पुनले चिनियाँ उपमन्त्री चेन झाओलाई भेटे, फोटो खिचाए, सामाजिक सञ्जालमा राखे र समाचारमा छाए । पार्टीको महासचिवको दाबेदार भनिएका पुनले महाधिवेशनमा प्रचण्डले आफूलाई छोडेर अरूलाई महासचिव बनाउन खोजेको भेउ पाएपछि उनले चीनबाटै दवाव सृजना गरेका छन् ।

विचार निर्माण र नेतृत्व चयनका लागि घम्साघम्सी चलिरहेको अवस्थामा उनले चीनबाटै दिएको यो सन्देशले माओवादी भित्र ठुलो तरङ्ग पैदा भएको छ । पदाधिकारीमा आकांक्षी बनेका नेताहरू पनि पुनको यो सन्देशले शशंकित बनेका छन् ।

त्यसमाथि महासचिवमा दाबेदारका रूपमा देखिएका जनार्दन शर्मा र पम्फा भुसाल झनै त्रसित बनेका छन्। सातौँ महाधिवेशनमै महासचिवको दाबी गरेका वर्षमान पुनले यो पटकको अवसर नगुमाउन अनेक कसरत गरेका छन् । उनी चीनमा भएपनि आफ्ना निकटका नेताहरूमार्फत उनले निरन्तर दवाव दिने काम गरिरहेका छन् । आठौँ महाधिवेशनका दरिला दाबेदार मानिएका आफूलाई पछि पारेर प्रभाकर महासचिव बन्ने सुचना पाएपछि पुनले त्यहींबाट दवाव बढाएको स्रोत बताउँछ ।

उपचार गराइरहेका पुनले चिनियाँ उपमन्त्री चेन झाओलाई भेटेर काठमाडौंको बन्दसत्रमा भएका नेताहरूलाई तरंगित बनाएका छन् । काठमाडौंमा पुननिकट प्रतिनिधिहरूले महासचिवका लागि दबाब बढाइरहेका बेला चिनियाँ नेतासँगको भेटवार्ताको समाचार सम्प्रेषण हुनुले पुनले पनि चीनबाट दबाब बढाएको स्पष्ट हुन्छ । तर माओवादीकै एक नेताका अनुसार कुरा त्यतिमात्रै होइन नेता पुनले प्रभाकरलाई महासचिव बनाउन लागेको सुचना पाएपछि चीनको पनि नजिक छु है भन्ने संदेश दिएका हुन् ।

माओवादी नेताहरूले चिनियाँ नेता झाओसँगको भेटलाई अर्थपूर्ण र सांकेतिक रूपमा व्याख्या गरेका छन् । ती नेता भन्छन्, ‘पुनले आफूले अध्यक्ष प्रचण्डसँगको परामर्शमा चिनियाँ नेतासँग भेटवार्ता गरेको समेत उल्लेख गर्नु प्रचण्डमाथि थप रणनीतिक दवाव बढाएको बुझिन्छ ।’

महाधिवेशनका लागि ८ पुसमै काठमाडौं ओर्लिने प्रयासमा भएका पुनलाई अस्पतालले छुट्टी नदिएपछि महाधिवेशनमा उपस्थित हुने उनको सपना चकनाचुर बनेको थियो । माओवादीको महाधिवेशन १७ पुससम्म चल्ने अनुमान छ । त्यसैले पुनले माओवादीभित्र आफ्नो पक्षमा माहोल बनाउन चिनियाँ नेतालाई भेटेर जसरी सन्देश प्रवाहित गर्ने रणनीति लिएका छन्, महाधिवेशनलगत्तै काठमाडौं आउने सन्देश पठाएर अर्को दबाब दिन खोजेको माओवादीभित्र चर्चा छ ।

महासचिवमा पुनलाई टक्कर दिनेगरी जनार्दन शर्माले पनि तयारी गरेका छन् । नेकपाकालीन समयदेखि शर्माको प्रभाव पार्टीभित्र निरन्तर बढ्ने क्रममा छ । त्यसअर्थमा अहिले पुनसँगै महासचिवको बलियो दाबेदारमा शर्मा देखिएका छन् । स्रोतका अनुसार लगातार आफूलाई सहयोग गर्दै आएकाले पनि प्रभाकरलाई महासचिव बनाउने तयारी प्रचण्डले गरेका थिए ।