५ नम्बर प्रदेशको राजधानीबारे प्रचण्डको यस्तो खुलासा - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

५ नम्बर प्रदेशको राजधानीबारे प्रचण्डको यस्तो खुलासा



बाँके :पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश ५ को राजधानीबारे नयाँ खुलासा गरेका छन् । उनले सबैको सहमति भएको तर घोषणा गर्न मात्र बाँकी रहेको भन्दै यस्तो खुलासा गरेका हुन्।

नेकपा बाँकेले मंगलबार नेपालगन्जस्थित पार्टी कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रममा उनले पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, मुख्यमन्त्री शंकर पोख्रेल, पार्टीका जिल्ला अध्यक्षलगायत प्रदेश सभासदको सहमतिमा प्रदेश राजधानीको टुंगो लगाएको जिकिर गरे। उनले जनताको भावनाअनुसार केही दिनपछि प्रदेश राजधानी घोषणा हुने बताए।

उनले सबै जिल्लालाई पायक पर्ने ठाउँमा नै प्रदेश राजधानी तोकिने धारणा राखे। ‘कसैको भावनामा ठेस नपुग्नेगरि प्रदेश राजधानीको नाम र केन्द्र निर्धारण हुन्छ,’ उनले भने। विकास भएको ठाउँलाई राजधानी आवश्यक नपर्ने जिकिर गर्दै अध्यक्ष दाहालले बाँके र बर्दियाका जनताको माग सम्बोधन हुनेगरि प्रदेश राजधानी टुंगो लाग्ने क्रममा रहेको स्पष्ट पारे। अन्य ठाउँका विमानस्थलजस्तै नेपालगन्ज विमानस्थललाई पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाइनु पर्ने धारणा राखे।

उनले नेपालगन्ज पश्चिम नेपालको आर्थिक केन्द्र भएको बताउँदै उनले नेपालगन्जलाई घाटा हुन नदिनेगरि सरकारले योजना बनाउने आश्वासन दिए। उनले हिल्सा-जमुनहा सडकले नेपालगन्जको विकासमा थप टेवा पुर्‍याउने बताए। कर्णाली प्रदेशसँगै नेपालगन्जको विकासमा टेवा पुर्‍याउन चीन सरकारसँग हिल्सा-जमुनहा सडक निर्माणका लागि सहमति गरेको बताए।

यसैबीच, प्रेस संगठन, बाँकेले नेपालगन्ज विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री दाहालले संवैधानिक व्यवस्थालाई टेकेर प्रदेश प्रमुखको नियुक्ति भएको बताए।